विराटनगर, १३ पुस २०८२
विराटनगरस्थित नोबेल मेडिकल कलेज अस्पतालको पार्किङ स्थलमा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको छ ।
शुक्रबार दिउँसो अस्पतालको पार्किङमा एउटा बेवारिसे कालो झोला रहेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले उक्त झोला खोलेर हेर्दा भित्र ६ सय पत्तामा रहेको जम्मा ६ हजार पिस प्रतिबन्धित ‘ट्रामाडोल’ फेला पारेको हो । औषधि बरामद गरी मुचुल्का उठाएर जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रको पार्किङमा यति ठुलो परिमाणमा लागू औषधका रूपमा प्रयोग गरिने औषधि कसले र किन छाड्यो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार उक्त झोला र औषधिसँग सम्बन्धित व्यक्तिको खोजी कार्य भइरहेको छ ।












