काठमाडौं, ०७ साउन २०८२
निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो ।
आज कम्पनीले प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । बुधबार यो सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा निष्काशन कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष कालिदास पौडेल, संचालक फार्मासिस्ट सुजन चन्द्र सिग्देल चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेल को पनि सहभागिता रहेको थियो ।
वि.सं.२०७४ सालमा स्थापना भएको निभिक्स फर्मास्यूटिकल्सले २०८१ माघ २ गते पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई औषधि व्यवस्था विभागबाट समेत उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको छ । कम्पनीले हाल ५६ प्रकारका औषधिहरु उत्पादन तथा बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले मुख्य रुपमा मुटु रोग, मधुमेह, श्वास–प्रश्वास, कलेजो र पेटसम्बन्धी रोगहरुको उपचारमा प्रयोग हुने औषधिहरु उत्पादन गर्दै आइरहेको छ तथा नयाँ औषधिहरुमा अनुसन्धान तथा उत्पादन विस्तारको तयारी पनि गरिरहेको छ।