काठमाडौं, १० फागुन २०८२
नेपाल फर्मा एक्स्पो २०८२ का अवसरमा आयोजित क्रिकसल प्रतियोगिताको उपाधि नेपाल फर्मास्युटिकल्स ल्याबले जितेको छ।
एसोसिएसन अफ फर्मास्युटिकल प्रोड्युसर्स अफ नेपाल एपोनको मार्केटिङ सर्कलद्वारा फागुन ८ र ९ गते आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एनपीएलले जित हात पारेको हो। फाइनल खेलमा एशियन फर्मास्युटिकल्सलाई पराजित गर्दै एनपीएल विजयी भएको थियो।
विजेता एनपीएल र उपविजेता एशियन फर्मास्युटिकल्सलाई क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण एपोनका महासचिव तथा एक्स्पो संयोजक सन्तोष बरालले गरेका हुन्।
उक्त प्रतियोगितामा देउराली जनता फर्मास्युटिकल्स लिमिटेड, लोमस फर्मास्युटिकल्स, म्याल्नस फर्मा, नेपाल रेमेडिज, फर्मोनिक्स लाइफ साइन्स र क्वेस्ट फर्मास्युटिकल्ससहित आठ टोलीको सहभागिता थियो।
एपोन मार्केटिङ सर्कलका संयोजक दिपेश प्रधानका अनुसार फर्मा उद्योगका कर्मचारी तथा बजार प्रतिनिधिहरूबीच सहकार्य र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले क्रिकसल आयोजना गरिएको हो।
नेपाल फर्मा एक्स्पो २०८२ को दशौँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा यही फागुन २८ देखि ३० गते सम्म आयोजना हुँदैछ।





