काठमाडौं, २८ जेठ २०८१
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा डा. विष्णु सापकोटा निर्वाचित भएका छन्।
अमेरिकाको सिकागोमा भएको एएनएमएफको २८औं वार्षिक सम्मेलन तथा साधारण सभाले डा. सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो। डा. सापकोटा यसअघि एएनएमएफको उपाध्यक्ष थिए।
जुन ७ देखि ९ तारिखसम्म भएको वार्षिक सम्मेलनले डा. सापकोटासहित अन्य कार्यसमिति पदाधिकारी चयन गरेको हो।
एएनएमएफको उपाध्यक्षमा नारायण न्यौपाने, सचिवमा नविन कैनी, सह-सचिव विकाश भट्टराई, कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भएका छन्। एएनएमएफका निवर्तमान अध्यक्ष विनोद खडका हुन्।
यसैगरी, सम्मेलनबाट एएनएमएफको बोर्ड सदस्यमा भुपेश खड्का, डिल्ली भुर्तेल, मार्भिन ब्रुस्टिन, राजु बहादुर सेन्चुरी, गणेश चौधरी, विनोद ढुंगाना, उपेन्द्र काफ्ले, सरोज कँडेल, जीवन लामिछाने, श्रद्धा मानन्धर, सन्देश पंडित, सुमनराज रेग्मी, वीरेन्द्र साह, सन्तोष सापकोटा, रचना तिवारी, स्वीकृति उपाध्याय वास्कोटा, राजेश पाण्डे र विवेक वाग्ले रहेका छन्।
सम्मेलनमा अमेरिकामा रहेका तीन सय चिकित्सक तथा स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरुको सहभागी रहेको थियो।
सम्मेलनमा नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रमोद जोशी र क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही सहभागी भएका थिए।
एएनएमएफको २९ औं सम्मेलन वासिङटन डिसीमा सन् २०२५ को मे १६ देखि १८ तारिख सम्म हुने छ।
सन् १९९७ बाट सुरुवात भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसनले स्थापनाकाल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ। शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन सक्रिय रूपमा सहभागी हुँदै आइरहेको छ।
सन् १९९७ मा नर्थ अमेरिकामा रहेका नेपाली डाक्टर र नेपाललाई माया गर्ने समाजसेवीहरुको पहलमा यो संस्था स्थापना भएको हो। न्यूयोर्कमा दर्ता भएको यो संस्था सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान एएनएमएफ नेपालमा पनि स्थापना छ।