काठमाडौं, २३ पुष २०८०
नेपालमा दर्ता भएका डाक्टरहरुको संख्या झन्डै ३५ हजार पुगेको छ। नेपाल मेडिकल काउन्सिलले अपडेट गरेको डिसेम्बर ३१ सम्मको तथ्यांक अनुसार ३४ हजार ९१० जना चिकित्सक दर्ता भएका छन्।
त्यसमध्ये एमबिबिएसका ३० हजार २७ जना र बिडिएसका ४ हजार ८८३ जना रहेका छन्। काउन्सिलमा दर्ता भएका चिकित्सक मध्ये सबैभन्दा धेरै पुरुष नै छन्। एमबिबिएस तथा बिडिएस तर्फ पुरुषको संख्या २१ हजार ६८१ जना छ भने महिलाको संख्या १३ हजार २२९ मात्र छ।
यस्तै विशेषज्ञ चिकित्सकको संख्या १० हजार ५८८ जना छन्। जसमध्ये एमडि/एमएस अध्ययन गरेका ९ हजार ८२३ जना छन् भने एमडिएस गरेका ७६५ जना छन्।
चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन पश्चात लाइसेन्स लिनेहरु मध्ये महिला भन्दा पुरुष नै बढी छन्। विशेषज्ञ दर्तामा रहेका १० हजार ५८८ जना मध्ये ७ हजार ४७६ जना पुरुष र ३ हजार १२१ जना महिला छन्।