काठमाडौं, १४ माघ २०८०
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले गुणस्तरीय शिक्षाको लागि समय सापेक्ष पाठ्यक्रमलाई परिमार्जन गर्न ध्यानकर्षण गराएको छ ।
संघका अध्यक्ष महेन्द्र राज भुसाल सहितका पदाधिकारीले पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायका डीन डा. दया राज ढकाललाई भटेर पाठ्यक्रम परिमार्जनका लागि ध्यानकर्षण गराएका हुन् ।
पोखरा विश्वविद्यालयले सन् २००० देखि स्वास्थ्य व्यवस्थापन विषयमा स्नताक , स्नताकोत्तर तहमा जनशक्ति उत्पादन गर्दै आएको छ । तर स्वास्थ्य व्यवस्थापनमा उत्पादित जनशक्तिको व्यवस्थापनबारे सम्बन्धित निकायमा कुनै चासो नदेखाएको संघले जनाएको छ । जसका लागि विश्वविद्यालयले नै अभिभाकत्व लिइ समस्याको समधानका लागि आवश्यक पहल गर्न संघले आग्रह समेत गरेको छ ।
शिक्षाको गुणस्तर अनुगमन, मूल्यांकन गर्न र स्वास्थ्य व्यवस्थापकलाई स्थायी हुने प्रक्रिया अगाढी बढाउन लोकसेवा आयोग तथा अन्य सम्बन्धित निकायमा सहजीकरण गर्नका लागि संघले आग्रह गरेको हो ।
पोखरा विश्वविद्यालयले हालसम्म स्नातक तहमा २ हजार, पोष्ट ग्रयाजुयट तहमा ५०० र स्नातकोत्तर तहमा १ हजार जनशक्ति उत्पादन गरिसकेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका शिक्षण संस्थाबाट स्नातक र स्नताकोत्तर गरी थप बार्षिक ३सय जनशक्तिको उत्पादन हुँदै आएको छ ।
स्वास्थ्य सेवा व्यवस्थापनमा उत्पादित जनशक्तिको आवश्यकता महसुस गर्दै सरकारले २०७५ सालदेखि ५० शैय्याभन्दा माथिका अस्पतालमा करारमा राख्दै आउनु भएको छ ।
संघका अध्यक्ष भुसालका अनुसार स्वास्थ्य सेवा व्यवस्थापकहरु ४५ जिल्ला अस्पताल र प्रादेशिक तथा संघिय अस्पतालमा समेत कार्यरत छन् । अब सरकारले स्वास्थ्य सेवा व्यवस्थापक दरबन्दी सिर्जना गर्दै लोकसेवा मार्फत स्थायी गर्नुपर्ने संघको माग छ ।