ललितपुर, ०६ फागुन २०८२
श्वास–प्रश्वास सम्बन्धी समस्याको उपचारका लागि ललितपुरको मानभवनमा ‘नेशनल चेष्ट सेन्टर’ स्थापना गरिएको छ ।
श्वास–प्रश्वास सम्बन्धी बिरामीहरूलाई विशेषज्ञ, गुणस्तरीय तथा सहुलियत दरमा सेवा उपलब्ध गराउने उद्देश्यले यस संस्थाको स्थापना गरिएको नेशनल चेष्ट सेन्टरका अध्यक्ष मधुसूदन घिमिरेले जानकारी दिनुभयो।
नेपालमा पछिल्लो समय श्वास–प्रश्वासका बिरामी बढ्दै गएका छन् । सवारी साधनको अत्यधिक चाप, पुराना डिजेल इन्जिन, निर्माण कार्यबाट उड्ने धुलो, उद्योगजन्य उत्सर्जन तथा खुला रूपमा फोहोर जलाउने जस्ता कारणहरूले वायु प्रदूषणको स्तर उच्च बन्दै गएको छ । कोभिड १९ पश्चात श्वास–प्रश्वास सम्बन्धी परामर्श तथा परीक्षण गराउने बिरामीहरूको संख्या उल्लेख्य रूपमा बढेको चिकित्सकहरूले बताउने गरेका छन् ।
नेपालमा यसअघि श्वास–प्रश्वाससम्बन्धी उपचारमा समर्पित, बहुआयामिक सेवा दिने छुट्टै चेष्ट सेन्टरको अभाव रहेको अवस्थामा यो संस्था स्थापना गरिएको घिमिरेले बताए ।
घिमिरेका अनुसार चेष्ट सेन्टरमा श्वास–प्रश्वाससम्बन्धी रोगको पहिचान, परामर्श, उपचार लगायत सबै प्रकारका सेवा उपलब्ध छन्।
उपत्यकामा बढ्दो वायु प्रदूषणले पनि स्वासप्रश्वास रोगलाई थप जटिल बनाइरहेको वरिष्ठ छाती रोग विशेषज्ञ डा. राजु पंगेनी भनाइ छ। सवारी साधनको चाप, निर्माण कार्यबाट उड्ने धुलो, उद्योगजन्य उत्सर्जन तथा फोहर दहनजस्ता कारणले वायु गुणस्तर कमजोर बन्दै गएको छ। ग्रामीण क्षेत्रमा दाउरा तथा जैविक इन्धनको प्रयोगबाट हुने भित्री धुँवाले पनि महिला र बालबालिकामा स्वासप्रश्वास समस्या बढाएको डा. पङ्गेनीले बताए ।
सुर्तीजन्य पदार्थको प्रयोग अर्को प्रमुख जोखिम कारकका रूपमा रहेको छ। चुरोट, बिँडी तथा अन्य तम्बाकुजन्य पदार्थको सेवनले सिओपीडी, फोक्सोको क्यान्सर तथा मुटुरोगको जोखिम बढाउने चिकित्सकहरू बताउँछन्।





