चितवन, ०७ पुष २०८२
थोक औषधि व्यवसायी संगठन नारायणगढको नवौँ अधिवेशनबाट नारायण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि संगठनको नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा लेखनाथ कडेल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा निर्मला थापा र सह-कोषाध्यक्षमा बैकुण्ठ शर्मा चयन हुनुभएको छ। सदस्यहरूमा रामकृष्ण दुवाडी, प्रबिन थापा र इन्द्र पौडेल रहनुभएको छ।
संगठनको २०औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन भरतपुर स्थित अतिथि पार्टी प्यालेसमा सम्पन्न भएको हो। कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष बिज्ञान पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल थोक औषधि व्यवसायी संघ, बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष शिबप्रसाद पण्डित प्रमुख अतिथिका रूपमा रहनु भएको थियो।
त्यसैगरी बागमती प्रदेश नेपाल थोक औषधि व्यवसायी संघका थोक सदस्य कपिल सुवेदी तथा नेपाल थोक औषधि व्यवसायी संघ जिल्ला शाखा चितवनका अध्यक्ष विनोद प्रसाद तिमिल्सिना विशिष्ट अतिथिका रूपमा उपस्थित रहेको थियो।
अधिवेशनमा जानकारी दिँदै निवर्तमान अध्यक्ष बिज्ञान पौडेलले विगत कार्यकालमा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नयाँ नेतृत्वले थोक औषधि व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने विश्वास व्यक्त गर्नुभयो।











