काठमाडौं, १२ पुष २०८१
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानसिक स्वास्थ्यवारे एक दिने अन्तर्क्रिया आयोजना सम्पन्न गरिएको छ।
सेभ द चिल्ड्रेनको सहयोगमा निलहिरा समाजद्वारा आयोजित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानसिक स्वास्थ्य अवस्थाका बारेमा नेपाल र भुटानमा गरिएको सर्वेक्षण प्रतिवेदन, समस्यामा यी समुदायका सदस्यहरुको स्वास्थ्य उपचार सेवामा हुने समस्या लगायतका विषयमा प्रमुख सरोकारवाला पक्षबीच छलफल गरिएको हो।
कार्यक्रममा सांसदद्धय लक्ष्मी ढकाल र सीता राना मगरले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मानसिक स्वास्थ्यको विषयमा राज्यले विशेष ध्यान पुर्याउनुपर्ने भन्दै यसका लागि आफूहरुले संसदबाट आवाज उठाउने बताउनु भयो।
यस्तैगरी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने तथा मानसिक रोग शाखा प्रमुख डा. पोमावती थापाले सरकारले मानसिक स्वास्थ्यका लागि गर्दै आएको काम र अब गर्ने योजनामा रहेका कामका विषयमा बताइन। डा. थापाले क्वेर समुदायका लागि थप ध्यान दिनु पर्ने आवश्यकता रहेको औल्याइन।
कार्यक्रममा निलहिरा समाजका तर्फबाट कनक तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै भुटानबाट गरेर आएका अभियन्ता टेन्जिङ ग्याल्जेनले सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
सर्वेक्षणमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायका कुल ३८९ जना सहभागी थिए। ती मध्ये ३५ प्रतिशतमा एन्जाइटी र ३३.४ प्रतिशतमा डिप्रेसन भएको पाइएको थियो।
सेभ द चिल्ड्रेनका तर्फबाट आयुष जोशीले मानसिक स्वास्थ्य समस्याको अवस्था चित्रित गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई घर देखि स्वास्थ्य संस्थासम्म पाउने दुख, स्कुल देखि समुदायसम्म पाएका अफ्टेराबारेमा मिहिन ढंगले सोचेर नीति बनाउनु पर्ने बताए।
कार्यक्रममा निलहिरा समाजकी कार्यक्रम निर्देशक मनिसा ढकालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका लागि राज्यले विशेष ध्यान दिएर नीति बनाउनुपर्ने र हेर्ने नजरिया बदल्नु पर्ने बताईन।
कार्यक्रममा त्रिवि शिक्षण अस्पतालबाट डा सगुन वल्लभ पन्त, पराक्रम जवरा, क्वेर समुदायका अभियन्ता संकेत बस्याल लगायतले क्वेर समुदायको मानसिक स्वास्थ्य समस्या र अव गर्नुपर्ने कामका बारेमा बोलेका थिए।