सिन्धुपाल्चोक, ६ असार २०७८
सिन्धुपाल्चोक मेलम्चीमा केही दिनदेखि आएको बाढीबाट पीडित तथा प्रभावितका सहायतका लागि नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन लगायतका संघ संस्थाले विभिन्न औषधि, स्वास्थ्यसहित राहत सामग्री वितरण गरेका छन् ।
बाढी पहिरोबाट बढी प्रभावित पाँचपोखरी, मेलम्ची र हेलम्बुवासीलाईको उपचार तथा राहतका लागि शनिबार लाखौं मुल्य बराबरको सामग्री हस्तान्तरण गरिएको हो । बाढीबाट सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु र पाँचपोखरी सबैभन्दा प्रभावित भएका छन्।
राहत वितरणमा समन्वय होस् भन्ने उद्देश्यले राहत सामग्री प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकलाई हस्तान्तरण गरिएको हो ।
बाढीपछि आइपर्नसक्ने विभिन्न भाइरल तथा सिजनल रोग, रुघाखोकी, एलर्जी तथा छालाका समस्यमा प्रयोग हुने औषधिसहित स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटरसमेत हस्तान्तरण गरिएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए।
स्वास्थ्य तथा राहत सामग्री हस्तान्तरणका लागि अध्यक्ष डा. कार्कीसहित, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बहादुर बस्नेत, संघका महासचिव डा. बद्री रिजालसहितको चिकित्सक टोली सिन्धुपाल्चोक पुगेको थियो।
टोलीले जिल्लामा विद्यमान स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिएर थप उपचार सामग्रीसमेत उपलब्ध गराउँने प्रतिवद्धता जनाएका थियो ।
सो अबसरमा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जिल्लामा विशेषज्ञ चिकित्सक, रक्तसंचार केन्द्र र भेन्टिलेटरसमेत उपलब्ध नभएको बताए।
चिकित्सक संघ र फाउन्डेसनले स्वास्थ्य विशेषज्ञ जनशक्ति व्यवस्था भएमा रक्तसंचार केन्द्र र भेन्टिलेटर उपलब्ध गराउँने प्रतिवद्धता जनाएका थिए।