काठमाडौं, २८ फागुन २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारका नीति, आवधिक योजना र रणनीतिहरूमा औषधि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको बताउनु भयो।
नेपाल औषधि उत्पादक संघ (एपोन) द्वारा आयोजित दशौँ नेपाल फार्मा एक्सपो कार्यक्रममा बोल्दै डा. देवकोटाले स्वदेशी औषधि उत्पादन बढाउने, औषधिको उपलब्धता सुनिश्चित गर्ने र औषधिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य सरकारको नीति दस्तावेजमै समेटिएको बताए।
डा. देवकोटाले स्वदेशी औषधि उद्योगले नेपाली जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो । डा. देवकोटाका अनुसार नेपालमा आवश्यक पर्ने औषधिमध्ये करिब ५० प्रतिशत औषधि स्वदेशमै उत्पादन भइरहेको छ, जसले देशको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन सहयोग पुगेको छ। उनले ठूलो लगानीका बीच सीमित प्रतिफल हुँदाहुँदै पनि उद्योगहरूले निरन्तर लगानी गरिरहनु भएको बताए।
स्वास्थ्य सचिव डा. देवकोटाका अनुसार स्वास्थ्य सेवा प्रदान गर्दा औषधि अत्यन्त महत्वपूर्ण घटक हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग गरी तीन विभाग रहे पनि औषधिको भूमिका तीनै क्षेत्रमा महत्वपूर्ण रहेको बताउनु भयो।
डा. देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने सेवामध्ये पनि सबैभन्दा बढी औषधिसँग सम्बन्धित सेवा लिइने गरेको उल्लेख गर्दै । त्यस्तै, नेपालमा स्वास्थ्य सेवामा हुने “आउट अफ पकेट एक्सपेन्डिचर” अझै उच्च रहेको भन्दै नागरिकहरूले स्वास्थ्य सेवा लिँदा खर्च गर्ने रकममध्ये ५४ प्रतिशतभन्दा बढी रकम आफ्नै खल्तीबाट तिर्नुपर्ने अवस्था रहेको साथै, जसको ठूलो हिस्सा औषधिमा खर्च हुने डा. देवकोटाको भनाइ थियो।





