काठमाडौं, १४ साउन २०८२
नेपाल औषधि उत्पादक संघ (एपोन) को महाधिवेशन यही साउन १९ गते काठमाडौंमा हुने भएको छ।
संघको कार्यसमिति बैठकले महाधिवेशनको मिति तोकेसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। बैठकले महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन निर्वाचन समिति र अधिवेशन तयारी समिति गठन गरेको छ।
संघका उपाध्यक्ष सन्तोष बरालले महाधिवेशनको तयारीका लागि कार्य प्रारम्भ भएको जानकारी दिनुभयो। बैठकले संघका निवर्तमान अध्यक्ष प्रज्वलजङ्ग पाण्डेको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ। समितिमा पूर्व अध्यक्ष महेश गोर्खाली र वरिष्ठ अधिवक्ता रमेश प्रसाद धिताल उक्त समितिको सदस्य रहेका छन्।
यस्तै, अधिवेशन तयारी समितिको नेतृत्व वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले गरेका छन्। त्यसमा उपाध्यक्ष सन्तोष बराल, कार्यसमिति सदस्य शैलेस वैध र सुमित चन्द्र श्रेष्ठ सदस्य रहेका छन्।
महाधिवेशन संघको संरचना परिवर्तनसँगै गम्भीर राजनीतिक महत्व राख्ने संघहरूको एक भएको यो संरचना परिवर्तन पनि हो। यसपटक विधान संशोधन गर्दै कार्यसमितिको सदस्य संख्या ११ बाट १३ पुर्याइएको छ। नयाँ सचिव पद पनि थपिएको छ, जसले संघको सांगठनिक रूपलाई अझ कार्यगत बनाउने अपेक्षा गरिएको छ।
महाधिवेशनमा सबैभन्दा ठूलो आकर्षण अध्यक्ष पदको लागि बनेको छ। संघका पूर्व महासचिव विप्लव अधिकारी, वर्तमान वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटा र उपाध्यक्ष सन्तोष बराल प्रतिस्पर्धामा छन्।
यी तीनै उम्मेदवार विगतका कार्यसमितिहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका, अनुभवी, र उद्योग क्षेत्रका चिनिएका अनुहारहरू हुन्।
पूर्व महासचिव विप्लव अधिकारीः
बिप्लब अधिकारीले दुई कार्यकाल महासचिवको भूमिका सम्हाली सकेका छन् । अघिल्लो अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी थिए तर वर्तमान अध्यक्ष महेश प्रधान सङ्ग पराजित भएका थिए। अधिकारीले संघभित्र नीति निर्माण, कार्यान्वयन, लबिङ र सरकारसँगको समन्वयमा सक्रिय भूमिका खेलेको दाबी गर्दै यसपटक अध्यक्ष बन्ने आफ्नो पंक्तिबद्ध योग्यता पूरा भइसकेको तर्क दिएका छन्।
वर्तमान उपाध्यक्ष सन्तोष बरालः
सन्तोष बराल जसले तीन कार्यकाल उपाध्यक्ष भएर काम गरी सकेका छन् । संगठनको संरचना विस्तार, प्रदेश र स्थानीय तहसँगको सम्बन्ध विकास, तथा नीतिगत पक्षमा उल्लेखनीय काम गरेको दाबी गर्छन्। उनी संघभित्र नेतृत्वको नयाँ पुस्ता प्रतिनिधित्व गर्ने उम्मेदवार मानिन्छन्।
वर्तमान वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाः
रुंगटाले एक कार्यकाल सदस्य, तीन कार्यकाल कोषाध्यक्ष, र हाल वरिष्ठ उपाध्यक्षको रूपमा काम गरिसकेका छन् । आफू संघको हकहित र नीतिगत दबाब निर्माणमा सबैभन्दा अनुभवी दाबी गर्छन्। उनले संघमा लामो समयदेखि नेतृत्व भूमिका निर्वाह गर्दै आएको अनुभवलाई आफ्नो बलियो आधार मानेका छन्।
संघका पूर्व अध्यक्षहरू र वरिष्ठ उद्योगीहरू अध्यक्ष पदको विषयमा सहमतिको पक्षमा देखिएका छन्। हालका अध्यक्ष महेश प्रसाद प्रधान र निवर्तमान अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले सहमति जुटाउने प्रयास गरिरहेका छन्। उनीहरूले निर्वाचनबाट योग्य उम्मेदवारहरू बाहिरिने जोखिम रहेको भन्दै सहमतिबाट अगाडि बढ्न आग्रह गरेका छन्।
संघका पूर्व अध्यक्ष शंकर घिमिरे, उमेशलाल श्रेष्ठ, हरिभक्त शर्मा जस्ता अनुभवी नेतृत्वकर्ताहरूले सबै उम्मेदवारहरू योग्य र संघका लागि महत्त्वपूर्ण ठान्दै सहमतिका लागि दबाब दिइरहेका छन्। तर तीनै उम्मेदवारको आ-आफ्नो पक्ष बलियो, समर्थक समूह मजबुत र क्षेत्रगत प्रभाव बढिरहेका दावी गरिरहेका छन् ।
महाधिवेशनले केवल नेतृत्व परिवर्तनको प्रक्रिया मात्र होइन, औषधि उत्पादन उद्योगसँग सम्बन्धित नीतिगत सुधार र भविष्य रणनीति निर्धारणको केन्द्र पनि हो। संघले यो अधिवेशनमा औषधि उद्योगमा देखिएका हालका चुनौती—कच्चा पदार्थ आपूर्ति संकट, मूल्य निर्धारणमा सरकारी हस्तक्षेप, विदेशी उत्पादनको प्रतिस्पर्धा, नियमनकारी नीति, निर्यात सम्भावनाको विकास आदि विषयमा गहिरो छलफल गर्ने जनाएको छ।