काठमाडौं, १२ पुष २०८१
नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न माग गरेको छ।
काठमाडौंमा बिहीबार संघले पत्रकार सम्मेलन गर्दै स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न सरकारसँग माग गरेको हो ।
मलेसियाको सिन्डिकेट अन्त्य गर्न सरकारसँग पटक-पटक माग गर्दा समेत बेवास्ता गरेको संघका महासचिव कृष्णप्रसाद बजगाईंले बताउनु भयो। उनले देशैपिच्छे स्वास्थ्य क्षेत्रमा सिन्डिकेट देखिएको बताउँदै त्यो अन्त्य गर्नु सरकारसँग माग गरे । उनले मलेसियामा मरिसकेको सिन्डिकेट यो वा त्यो बहानामा जन्मिनु नहुने बताए । उनले दुई अर्बभन्दा बढी लगानी रहेको, दुई हजार भन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिब १० हजार व्यक्तिहरू आश्रित रहेको क्षेत्र सिन्डिकेटको नाममा तहसनहस बनाउन खोजिएको बताए ।
बजगाईंले गुणस्तरीय सेवाको सुनिश्चितता लागि प्रणालीमा सुधार गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था वैदेशिक रोजगार ऐन, २०६४ समय सापेक्ष परिमार्जित गर्नुपर्ने माग पनि गरे ।
संघले सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंङ्गले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ।
मलेसिया, साउदी, दक्षिण कोरिया, कतार जाने कामदारलाई स्वास्थ्य संस्थाको सिण्डिकेटमार्फत परीक्षण भइरहेको हुँदा सबै सूचिकृत स्वास्थ्य संस्थाले काम गर्न पाउनु पर्ने संघका अध्यक्ष तारानाथ अर्यालले बताए ।
श्रम मन्त्रालय अन्तरगत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ परीक्षण गराउदै आएता पनि मलेसियाका लागि ३६ वटा संस्था र साउदीलगायतका देशका लागि गाम्का नेपालमा वटा स्वास्थ संस्थाले सरकारको नीति विपरित सिण्डिकेट गरेको भन्दै अध्यक्ष अर्यालले सिण्डिकेट तत्काल बन्द गर्नुपर्ने माग गरे ।
गुणस्तरिय सेवाको सुनिश्चितता लागि प्रणालिमा सुधार गर्नुपर्ने बजगाइको भनाई छ । वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षण सम्बन्धि व्यवस्था बैदेशिक रोजगार ऐन २०६४ समय सापेक्ष परिमार्जिन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षण गर्ने सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा एक रुपता कायम हुने स्वास्थ्य परिक्षण प्रतिवेदन तयार गरि सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरि एकै किसिमको सफ्टवेयर प्रणाली अनिवार्य रुपमा स्वास्थ्य संस्थाहरुमा लागु गर्नुपर्ने संघले माग गरेको छ ।