काठमाडौं, ६ माघ २०८१
नेपालमा पहिलो पटक नेपाल मेडिकल काउन्सिलद्वारा एनआरएन चिकित्सकलाई लाइसेन्स दिइने निर्णय भएको छ।
आवेदन दिइसकेका गौर अवासिय चिकित्सक डा. भुपेश खड्क उक्त लाइसेन्स प्राप्त गर्ने पहिलो एनआरएन चिकित्सक हुनेछ्न।
शुक्रबार काउन्सिलमा बसेको बैठकले एनआरएन चिकित्सकलाई लाइसेन्स दिने निर्णय गरेको काउन्सिलका रजिस्ट्रार डा. शतिश देवले जानकारी दिए। डा. खड्काले एक वर्षका लागि लाइसेन्स पाउने छन्। डा खड्का अमेरिका नेपाल फाउन्डेसनका पूर्व अध्यक्ष पनि हुन्।
डा. देवका अनुसार पाँच वर्षका लागि लाइसेन्स दिन सकिने प्रावधान छ तर हरेक वर्ष नवीकरण गर्नुपर्नेछ। निर्णयमा भनिएको छ, ‘गैरआवासिय नेपाली चिकित्सकको दर्ता सम्बन्धमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न मार्ग प्रशस्त भएको ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्रलाई सार्थक बनाउन, विश्वभरी रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन राज्यले पहल गरिरहेको सन्दर्भमा गैरआवासिय नेपाली चिकित्सकको दर्ता गर्ने निर्णय गरिएको छ।’
रजिस्ट्रार डा. देवका अनुसार दर्ताका लागि गैरआवासिय नेपाली प्रमाणपत्र वा पासपोर्ट र कम्तिमा ६ महिना अवधि रहेको सम्बन्धित देशको मूल राहदानी, सम्बन्धित देशमा हसिल गरेको उच्चतम चिकित्सक उपाधी प्रमाणपत्र, सम्बन्धित देशको काउन्सिलको दर्ता प्रमाणपत्र चाहिनेछ।
यसैगरी सम्बन्धित देशको काउन्सिलले जारी गरेको गुड स्ट्यान्डिङ प्रमाणपत्र वा नो अब्जेक्सन लेटर र दक्षता, विषय विज्ञता र पढाइको तहको समकक्षता प्राप्त गरेको प्रमाणपत्र बुझाउनुपर्नेछ। दर्ता तथा नविकरण शुल्क प्रति वर्ष १५ हजारका दरले पाँच वर्षसम्म नविकरण गर्न सकिने बताइएको छ।