महेन्द्रनगर: महाकाली प्रादेशिक अस्पतालमा हेमोफिलिया ‘ए’ रोगीका लागि फेक्टर VIII ट्रान्सफ्युजन सेवा सुरु गरिएको छ।
अस्पतालले रोगीको शरीरमा आवश्यक क्लटिङ फ्याक्टर VIII को स्तर बढाई रक्तस्राव नियन्त्रण गर्ने उद्देश्यसहित सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीका अनुसार अस्पतालमै पहिलो पटक यस्तो सेवा सुरु गरिएको हो र यसले सुदूरपश्चिम क्षेत्रका हेमोफिलिया बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।
डा. जोशीले यसअघि उपचारका लागि बिरामीहरूलाई बाहिरका ठूला शहर धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब स्थानीयस्तरमै सेवा उपलब्ध हुँदा समय र खर्च दुबै बचत हुने बताए।
हेमोफिलिया ‘ए’ एक आनुवंशिक रक्तस्रावसम्बन्धी विकार हो, जुन क्लटिङ फ्याक्टर VIII को कमीका कारण हुन्छ। यस रोगमा रगत जम्ने प्रक्रिया कमजोर हुने भएकाले बिरामीमा स्वतःस्फूर्त रक्तस्राव, जोर्नी दुख्ने तथा सामान्य चोटपटकमा पनि अत्यधिक रक्तस्राव हुने समस्या देखिन्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार यो रोग मुख्यतः X-लिङ्क रिसेसिभ जीनमार्फत सर्ने भएकाले पुरुषहरूमा बढी देखिन्छ। तथ्यांकअनुसार करिब ५ हजार पुरुषमध्ये १ जनामा यो समस्या पाइन्छ भने महिलाहरू प्रायः वाहकका रूपमा रहने गर्छन्।
अस्पतालका अनुसार अबदेखि आवश्यक परेमा बिरामीलाई प्रोफिलेक्टिक तथा माग अनुसार फेक्टर VIII नसामार्फत दिइनेछ, जसले रक्तस्राव नियन्त्रण गरी बिरामीलाई सामान्य जीवनयापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै, परिवारमा हेमोफिलियाको इतिहास भएका व्यक्तिहरूलाई वाहक परीक्षण तथा परामर्श लिन चिकित्सकहरूले सुझाव दिएका छन्। यसले भविष्यमा रोगको जोखिम पहिचान र व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास गरिएको छ।







