कञ्चनपुर, ५ फागुन २०८१
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिका–१० बस्ने १०८ वर्षीया तुलसादेवी देउवाको (आइटी फ्याक्चर) खुट्टाको शल्यक्रिया सफल भएको हो । अस्पतालका विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डा. दुर्गेश चौधरी, डा. सुवर्ण पौडेल र डा. मुकेश गामी लगायतको टोलीले शल्यक्रिया गरेको थियो ।
डा. चौधरीका अनुसार उहाँको हामीले उच्च सावधानी अपनाएर शल्यक्रिया सफल रूपमा गरेका छौँ र यो दुलर्भ नै हो । धेरै उमेर पुगेका वृद्धवृद्धामा शल्यक्रिया गर्न धेरै जोखिम हुने भएकाले चिकित्सकले शल्यक्रिया गर्न सुझाव नै दिँदैनन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यो दुर्लभ र जोखिमपूर्ण भए पनि अस्पतालका विशेषज्ञ चिकित्सकले सफल शल्यक्रिया गरेको बताउनुभयो । “हामीले शल्यक्रियाका जोखिमबारे उहाँको परिवारलाई जानकारी दिएका थियौँ, अध्यक्ष भट्टले भन्नुभयो, “उहाँहरूले शल्यक्रियाका लागि अनुमति दिएपछि अस्पतालको टोलीले काम सफल रूपमा गर्यो ।
वृद्धाका छोरा गोपालबहादुर देउवाका अनुसार गत माघ २५ गते खाटमा बस्ने क्रममा भुइँमा खसेर उहाँको खुट्टा भाँचिएको थियो । “उमेर भइसकेका आमाको अप्रेसन सफल भयो हामी धेरै खुसी भयौँ”, देउवाले भन्नुभयो, “खुट्टाको शल्यक्रियापछि अहिले स्वास्थ्यमा सुधार आएको छ ।”
पछिल्लो समय अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएपछि जटिल प्रकारका शल्यक्रिया महेन्द्रनगरमै हुन थालेका छन् । अस्पतालमा हाल १४ विशेषज्ञ चिकित्सक, १२ मेडिकल अफिसर र छ जना डेन्टल सर्जनले सेवा दिँदै आएका छन् । अस्पतालले स्वास्थ्य सेवा सुधार गरेपछि सामान्य उपचारका लागि पनि यहाँका स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ।