मकवानपुर, २८ फागुन २०८२
बागमती प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा एमबीबीएस अध्यापन सुरु भएको छ ।
चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति पाएपछि प्रतिष्ठानले यसै शैक्षिक वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
सोमबार नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका पालिकास्तरमा बनेका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको बताउँदै त्यस्तो अभाव पूर्ति गर्न एमबीबीएस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री थापाले राज्यले नागरिकलाई व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउनु संवैधानिक दायित्व भएको उल्लेख गर्दै हेटौंडा अस्पताल लगायत प्रादेशिक अस्पतालको सेवा-सुविधा हरेक वर्ष विस्तार गरिँदै लगिएको बताएका छन् । जिल्ला अस्पतालका रूपमा रहँदा र प्रतिष्ठान मातहत आउँदा हेटौंडा अस्पतालमा धेरै फरक आएको उनको दाबी छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी अन्य प्रतिष्ठानका भन्दा अब्बल चिकित्सकका रूपमा निस्कने अपेक्षा समेत रहेको उनको भनाई छ।
हाल प्रतिष्ठानका विभिन्न कार्यक्रमहरू हेटौंडाको गौरिटार, हेटौंडा–११ स्थित नलेज भिलेज, हुप्रचौर र कमानेमा सञ्चालन भइरहेका छन् । छरिएर रहेका कार्यक्रमलाई एउटै भवनबाट सञ्चालन गर्न प्रदेश सरकारको १२ करोड लगानीमा भवन निर्माण गर्न लागिएको उपकुलपति प्रदीप ज्ञवालीले बताए ।
प्रतिष्ठानमा हाल एमबीबीएससहित बीएससी नर्सिङ, ब्याचलर अफ फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ विषयमा अध्ययन भइरहेको छ । साथै सात विषयमा एमडी कार्यक्रम सञ्चालनमा रहेको छ । यस वर्ष एमडी कार्यक्रमका लागि ९ विषय थप गरिएको छ भने सिट संख्या ८ बाट बढाएर २७ पुर्याइएको छ । वि.सं. २०७६ असोज २ गते ऐन पारित भएपछि स्थापना भएको प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, अनुसन्धान र दक्ष चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतिष्ठानमा ४ विदेशी सहित ४६ जना विद्यार्थी एमबीबीएस कार्यक्रममा भर्ना भएका छन्।





