रुपन्देही, ५ माघ २०८१
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ। प्रसूति सेवालाई बिस्तार गर्दै तीनवटा शल्यक्रिया कक्ष थप गरिएको हो।
शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थप गरिएको शल्यक्रिया कक्षको उद्घाटन गरेका छन्। प्रसूति सेवाको लागि अलग्गै शल्यक्रिया कक्ष नहुँदा अन्य बिरामीहरूले शल्यक्रियाको लागि पालो पर्खिनुपर्ने समस्या थियो।
शल्यक्रिया कक्षले उपचार सेवा छिटोछरितो प्रदान गर्न र पालो पर्खिनुपर्ने समस्याको समाधान गर्ने मुख्यमन्त्री आचार्यको भनाइ छ। ‘अहिले उपचार सेवा लिन पालो पर्खनुपर्ने अवस्थालाई हटाउन यो शल्यक्रिया कक्षले सहयोग गर्ने छ,’ मुख्यमन्त्री आचार्यले भने।
प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी सरकारले कार्यक्रम बनाएको बताउँदै आचार्यले त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको महत्त्वपूर्ण योगदान जरुरी रहेको औँल्याएका छन्।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार विगत ३ वर्षको तथ्यांक अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन्।
अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा मात्र ९ हजार ७६५ जनाले शल्यक्रिया सेवा लिएका थिए। जसमध्ये ४ हजार ५४७ वटा शल्यक्रिया प्रसूति सेवातर्फको रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए।