रुपन्देही, १५ चैत्र २०८०
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा आईयूआई’ सुरु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालकी प्रसूति तथा स्त्रीरोग बिशेषज्ञ डा. बबिता थापाको नेतृत्वमा उक्त सेवा सुरु भएको हो।
यो सेवा काठमाडौंको थापाथलीमा रहेको प्रसूतिगृहमा मात्र सञ्चालनमा रहेको थियो । अब उपत्यका वाहिर लुम्बिनी प्रादेशिक अस्पतालमा पनि सुरु गरिएको अस्पतालका मेसु डा. सुदर्शन थापा क्षेत्रीले बताउनु भयो।
डा. थापाले आज सैनामैनाकी महिलाले यो सेवा ३२ बर्षको महिला १० बर्षसम्म पनि बच्चा नभएर अहिले यो सेवा लिएको बताउनु भयो।
संघिय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा बाँझोपन तथा निःसन्तान उपचार केन्द्र सेवा विस्तार गर्ने गरि बजेट बिनियोजन गरेको थियो। निःसन्तान स्वास्थ्यसम्बन्धी जानकारी, परामर्श र ‘आईयूआई’ सेवासम्म सुविधा हुनेछ ।
काठमाडौं तथा अन्य निजीमा महंगो सेवा लिने सेवाग्राहीका लागी लुम्बिनी प्रादेशिकमा यो सेवा उपलब्ध भएपछि सहज हुने डा. थापाले बताउनु भयो। पछिल्लो समयमा लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाँप बढेसंगै सेवा थप बिस्तार भैरहेको अस्पतालले जनाएको छ।
अस्पतालमा अहिले झन्डै १० देखि १५ प्रतिशत दम्पतीहरू निः सन्तानको समस्याबाट झेलिरहेको एक तथ्याङ्कले देखाएको छ।
प्रसूति तथा स्त्रीरोग अस्पतालले वि.सं २०३९ सालबाट ‘इन्फर्टिलिटी’ क्लिनिक भनेर सेवा सुरु गरेको थियो । त्यसपछि २०६३ सालबाट आईयूआई (इन्ट्रा युटेरिन इन्सिमिनेसन) सेवा सुरु भएको थियो। अहिले प्रसुती अस्पतालमा यो सेवा निरन्तर चलिरहेको छ।