काठमाडौं, १९ माघ २०८०
नेपालमा पहिलोपटक नेपाली चिकित्सककै नेतृत्वमा कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सकको सहयोग बिना नै नेपाली चिकित्सकहरुकै टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको छ ।
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. भण्डारीका अनुसार नेपाली चिकित्सकको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो । ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका पुरुषलाई बिहीबार डिस्चार्ज गरिदै छ भने महिला १० दिन अगाडि नै डिस्चार्ज भइसकेकी छिन् ।
डा. भण्डारीको नेतृत्वमा रहेको टोलीले विदेशी चिकित्सकको सहयोगबिना ११ घण्टा लगाएर प्रत्यारोपण गरेको थियो ।
नेपालमा २०७३ सालदेखि नै कलेजो प्रत्यारोपण सुरु भए पनि विदेशी विज्ञ चिकित्सकको सहयोगमा भइरहेको थियो । तर यसपटक भने नेपाली चिकित्सकको नेतृत्वमा भएको हो ।
त्रिवि शिक्षण अस्पतालले हालसम्म ११ जनाको कलेजो प्रत्यारोपण गरेको छ । तर सातौं केसमा नेपाली चिकित्सकको नेतृत्वमा कलेजो प्रत्यारोपण हुँदा सफलता पाउन सकेको थिएन । ‘त्यसबेला कोरोना महामारी थियो । सातौं प्रत्यारोपण केसमा भने कोरोना संक्रमणको कारणले बिरामीको तेस्रो हप्तामा मृत्यु भयो,’ डा. भण्डारीले भने ।
नेपालमा पहिलो पटक २०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दक्षिण कोरियाबाट आएका प्रत्यारोपण शल्य चिकित्सकसहित टिमले प्रत्यारोपण गरेका थिए ।
त्रिवि शिक्षण अस्पतालमा भने डा. भण्डारी अष्ट्रेलियाबाट कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आएपछि २०७६ जेठ १७ मा पहिलो कलेजो प्रत्यारोपण भएको थियो । २०७७ फागुनमा नेपालमै ११ महिनाको बालकमा पनि कलेजो प्रत्यारोपण भइसकेको छ ।
यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरुको ठूलो साथ र सहयोग रहेको डा. भण्डारीले बताए । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगञ्ज र चितवन मेडिकल कलेज, किष्ट मेडिकल कलेजले अनुमति पाएपनि गति भने लिन सकेका छैनन् ।
अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ । प्रत्यारोपण सेवालाई दिगो बनाउन नसके नेपालमा पीडा बढ्ने विज्ञ बताउँछन् ।
शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश बिरामीमाझ नपुग्नु, पुगे पनि नेपाली विशेषज्ञ टिमको क्षमतामा विश्वास स्थापित हुन नसक्नुलगायत कारण पनि सेवा विस्तारमा बाधक बनेको विज्ञ बताउँछन् ।
त्यसबाहेक कलेजो लिने–दिने व्यक्तिको रक्तसमूह, कलेजोको आकार, शरीरको बनावट, कानुनले निर्धारण गरेको पारिवारिक नाता नमिलेका कारण पनि कलेजो प्रत्यारोपणमा विस्तार हुन नसकेको उनीहरुको भनाइ छ ।