काठमाडौँ, ५ पुस २०८०
युवा कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंह ८ हजार डलरको अन्तराष्ट्रिय फेलोसिपका लागि चुनिएका छन् ।
ग्यास्ट्रो इंटेस्टाइनल सर्जनहरुको विश्वव्यापी समाज द सोसाइटी फर सर्जरी अफ एलीमेन्ट्री ट्याक्ट (एसएसएटी)ले डा सिंहलाई यसवर्षको ‘एसएसएटी ट्राभलिङ्ग फेलोसिप’ दिने भएको हो । डा. सिंह कम तथा मध्यम आय भएका देशका सर्जनहरु मध्येबाट छनौट भएका हुन् ।
डा. सिंहले भने, ‘एसएसएटी ट्राभलिङ्ग फेलोसिप -२०२३ का लागि छनौट भएको छु । खुशी लागेको छ । यसले उत्पेरणाका साथै थप सिकाईका लागि प्रोत्साहन गर्ने छ,’।
फेलोसिपमा छनौट भएका उनी आगामी वर्षको मे महिनामा अमेरिकाको राजधानी वासिंङटन डीसीमा हुने एसएसएटीको बार्षिक बैठकमा सहभागि हुने तथा जीआई सर्जनबीच अन्तरक्रियामा सहभागि हुने मौका पाउने छन् ।
संसारकै उत्कृष्ठ भनिएका मायो क्लिनिक क्लिभल्याण्ड क्लिनिकको समेत भ्रमण गरी जीआई सर्जरी सम्वन्धी नयाँ सिप र सर्जिकलको गुणस्तरहरुको अध्ययन्को अवसर पाउने छन् ।
‘यस अवसरमा विकसित देशले अवलम्बन गरेका जीआई शल्यक्रिया सम्वन्धी नयाँ सिप तथा प्रयोगका बारेमा जान्ने मौका समेत मिल्नेछ,’ डा. सिंहले भने ।
डा. सिंह हाल किष्ट मेडिकल कलज तथा ग्राण्डी अस्पतालमा जनरल तथा हेपाटो विलियरी सर्जनको रुपमा कार्यरत छन् ।
डा. सिंहको समूहले नेपालमा उपत्यका बाहिर पहिलो पटक चितवन मेडिकल कलेज र उपत्यकामा किष्ट मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सुरुवात गरेका थियो । हालै किष्ट मेडिकलकलेजमा उनको टोलीले पहिलो पटक एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गरेको थियो ।
डा. सिंह हेपाटो विलियरी सर्जरी विषयमा विद्याबारिधि गर्ने पहिलो नेपाली चिकित्सक हुन् ।
डा. सिंहले २०७५ सालमा राष्ट्रपतिबाट नेपाल विद्याभुषण क पाउनुको साथै सन् २०२० मा अन्तराष्ट्रिय कलेजो प्रत्यारोपण समाजबाट प्रतिष्ठित योङ इन्भेस्टिगेटोर अवार्डबाट विभुषित भएका थिए ।