काठमाडौं, ०६ असोज २०८२
काठमाडौं महानगरपालिकाले विभिन्न ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ। एम्बुलेन्स तयारी अवस्थामा राखेर मङ्गलबारबाट वितरण थालिने मेयर बालेन्द्र शाहले जानकारी दिएका छन्।
महानगरले पहिलो चरणमा देशभरका दुर्गम क्षेत्रका साथै मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकामा एम्बुलेन्स पठाइने मेयर बालेनले उल्लेख गरेका छन्।
मेयर शाहका अनुसार वितरणका लागि पारदर्शी मापदण्ड तय गरिएको छ र स्वास्थ्य सुविधा अभावमा पछाडि परेका स्थानलाई प्राथमिकता दिइएको छ। ‘स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो,’ शाहले बताएका छन्।
कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने लक्ष्य अन्तर्गत एम्बुलेन्स वितरण गर्न लागिएको बालेनले समाजिक सञ्जालमा लेखेका छन्।