ललितपुर, ११ पुष २०८०
ललितपुरको पाटन कृष्ण मन्दिरमा थाइराइड फाउन्डेसन अफ नेपालले थाइराइडसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
थाइराइड फाउन्डेसनले सोमबार अदिती फार्मेसीको सहकार्यमा एकदिने निःशुल्क शिविर सम्पन्न गरेको हो ।
शिविरमा थाइराइड रोग सम्बन्धी विशेषज्ञले परामर्श दिनुको साथै सहभागीहरुको निःशुल्क थाइराइड परीक्षण तथा औषधि वितरण गरिएको थियो ।
कार्यक्रममा थाइराइड फेडेरेसन इन्टरनेसनल (टीएफआई) का अन्तर्राष्ट्रिय अध्यक्ष डा. अशोक भासिनले स्थानीयबासिन्दासँग थाइराइड रोगसम्बन्धी अन्तरक्रिया गरेका थिए ।
उक्त शिविरबाट दुई सय बढी लाभान्वित भएका छन् । जसमध्ये १ सय ५० जनाको थाइराइड परीक्षण भएको थियो ।
डा. भासिनकै नेतृत्वमा चार जना विशेषज्ञ सहितको टोलीले शिवरमा सेवा दिएको थाइराइड फाउन्डेसन अफ नेपालका उपाध्यक्ष महेन्द्रराज भुसालले जानकारी दिए ।
भुसालका अनुसार थाइराइड फेडेरेसन इन्टरनेसनलले विश्वव्यापी रुपमा थाइराइड रोग पुनर्रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम गर्दै आएको छ ।
सो संस्थासँग आवद्ध रहेको थाइराइड फाउन्डेसन अफ नेपालले पनि थाइराइड रोगको रोकथामको लागि काम गर्दै आएको छ ।
थाइराइड फाउन्डेसन अफ नेपालले वर्षमा एकपटक विभिन्न स्थानमा थाइराइड रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।
कार्यक्रममा डा. भासिनको अलावा थाइराइड फाउन्डेसन अफ नेपालका अध्यक्ष सुरेन्द्र बीसी, उपाध्यक्ष महेन्द्रराज भुसाल, महासचिव गान्धीप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।