काठमाडौं, ११ कात्तिक २०८२
निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा भएको सांघातिक आक्रमण तथा तोडफोड प्रति भत्सर्ना गरेको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा सुत्केरीको ज्यानको विषयलाई लिएर सोमबार बिरामीका परिवार तथा आफन्त बताउने समूहले तोडफोड र आक्रमणमा उत्रिएका थिए ।
सोमबार एसोसिएसनले विज्ञप्ती जारी गरेर उपचारका विषयमा भएका विमतीलार्य विधिसम्मत र कानूनसम्मत रुपमा निरुपण गर्ने अधिकार हुँदा हुँदै अस्पताल जस्तो सम्वेदनशील स्थानमा आक्रमण गर्ने र कार्यस्थलमा रहेका स्वास्थ्यकर्मीलाई ज्यान मार्ने नियतका साथ हमला हुनु निन्दनीय विषय भएको जनाएको छ ।
एसोसिएसनले घटनालाई विरामीको आफन्तका नाममा पेशेवर गुण्डाहरु परिचालन गरि अस्पताल र स्वास्थ्यकर्मी माथि क्षति पुरयाउने कस्सित षड्यन्त्र रचिएको प्रष्ट भएको दावी गरेको छ । उसले यस प्रकारको आक्रमण कुनै असन्तुष्टिको स्वभाविक उपजभन्दा पनि नियोजित र प्रायोजित हमला हो भन्ने बुझाई रहेको समेत उल्लेख गरेको छ ।
एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीद्धारा जारी विज्ञप्तीमा यस्तो आतंक र त्रासदीकाबीचमा निजी मेडिकल तथा अस्पतालहरुले सेवा सञ्चालन गर्न नसक्ने भन्दै घटनाको तत्काल छानविन गरी दोशीलाई कडा कार्वाही गर्न माग गरेको छ ।
प्रेस विज्ञप्तीमा अस्पताल र स्वास्थ्यकर्मीमाथि सांघातिक हमला गर्ने गिरोहलाई तत्काल पक्राउ र कार्वाही नगरेसम्म स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले कार्यस्थलमा रहेर सेवा दिन नसक्ने भन्दै एसोसिएसनले कडा संघर्षमा उत्रिनु पर्न सक्ने चेतावनी दिएको छ ।















