काठमाडौं, १७ बैशाख २०८१
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालको इमर्जेन्सीमा आएका बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।
बिरामीका आफन्तले ड्यूटीमा रहेका चिकित्सकमाथि हातपात गर्नुका साथै अस्पताल तोडफोड समेत गरेको अस्पतालका एक चिकित्सकले जानकारी दिनुभयो।
काठमाडौं बत्तीस पुतलीका ६२ वर्षीय पुरुषको इमर्जेन्सीमा उपचारका क्रममा मृत्यु भएको हो ।
धेरै पेट दुखेको भन्दै आज दिउँसो सवा ४ बजे बिरामीलाई अस्पताल ल्याइएको थियो । उपचार प्रक्रिया सुरु गर्दागर्दै एक्कासी बिरामीको अवस्था बिग्रिदै गएपछी चिकित्सक, स्वास्थ्यकर्मीले सीपीआर दिएर बिरामीलाई बचाउने प्रयास गरेका थिए । चिकित्सकले प्रयास गर्दागर्दै ७:२२ बजेतिर बिरामीको मृत्यु भएको घोषणा गरिएको अस्पतालका चिकित्सकले दिएका छन् ।
ती चिकित्सकका अनुसार राति ८ बजे बिरामीमा आफन्तहरू भेला भएर अस्पताल आइ तोडफोड र डाक्टरमाथि हातपात गरेका थिए । इमर्जेन्सी विभागकी प्रमुख प्रा.डा.विनिता प्रधान र इमर्जेन्सीमै ड्यूटीमा रहेकी अर्की एक डाक्टरलाई समेत बिरामीका आफन्तले हातपात गरेका थिए । मुक्का र लात्तीले डा. प्रधानको टाउको र शरीरका विभिन्न भागमा प्रहार गरिएको थियो।
आक्रोशित भीडलेअस्पताल इमर्जेन्सीको काउन्टर र झ्यालका सिसा समेत फुटाएका छन्। बिरामीका आफन्तले भने उपचारमा लापरवाही गर्दा बिरामीको ज्यान गएको आरोप लगाएका छन् ।
तर उनीहरुले भनेजस्तो नभएको अस्पतालका चिकित्सकको भनाइ छ । बिरामीको उपचारमा महिला डाक्टर खटिएकाले उनीहरुलाई नर्स भन्ने ठानेर डाक्टरले नहेरेको आरोप लागाएको अस्पतालका चिकित्सकहरुले बताएका छ्न
यस अस्पतालका सञ्चालक डा. सुनिल शर्मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य छन् । अहिले(राति १० बजे) सम्म पनि अस्पतालमा ४० देखि ५० जना जति बिरामीका संख्यामा इमर्जेन्सी अगाडि बसेर धर्ना दिइरहेका एक जना चिकित्सकले बताउनुभयो।