काठमाडौं, ३१ असार २०८२
काठमाडौं जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषित गरिएको छ।
सोमबार जिल्ला खोप समन्वयको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा काठमाडौँलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
राष्ट्रिय पूर्ण खोप सुनिश्चितता कार्यविधि तथा निर्देशिका अनुसार जिल्ला भित्रका सबै ११ वटै स्थानीय तहमा आवश्यक प्रक्रिया पूरा गरेर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको काठमाडौं जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बताउनु भयो।
१६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्ण खोप प्राप्त गरेको पुष्टि गरेपछि पूर्ण खोप घोषणा भएको अधिकारीले बताए।
पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले जिल्ला खोप समन्वय समिति काठमाडौंका संयोजक सन्तोष बुढाथोकीलाई प्रदान गर्नुभएको थियो ।
वागमती प्रदेश अन्तर्गतको काठमाडौं जिल्ला २०८२ असार २० गतेदेखि पूर्ण खोप सुनिश्चितता कायम राख्ने अवस्था पुगेको जिल्ला खोप समन्वय समिति काठमाडौंले जनाएको छ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जिल्लाका सबै पालिकाहरूमा खोप सेवा पहुँचयोग्य र सुलभ बनाइएको र जसका कारण एक जना पनि बालबालिका खोप सेवा बाहिर नरहेको बताए।
जनस्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य अधिकृत सतिष बिष्टका अनुसार खोप बालबालिकालाई हुन सक्ने डिप्थेरिया, टिटानस, खोप, पोलियो, दादुरा, निमोनिया लगायतका रोगहरूबाट जोगाउन अत्यन्त आवश्यक हुन्छ । यस घोषणासँगै काठमाडौं जिल्ला मुलुकको स्वास्थ्य सुरक्षाको दृष्टिले उदाहरणीय जिल्ला बन्न सफल भएको छ ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले खोपले मात्र विभिन्न रोगबाट बचाउने बताउनुभयो । थापाले बागमती प्रदेशले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका (FCHV), सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय अगुवा तथा सरोकारवालाहरूको आतिथ्यता तथा सक्रिय सहभागिता रहेको थियो।