काठमाडौं, २० साउन २०८१
शनिबार काठमाडौं क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा एक दिने नि:शुल्क ‘भिजिअल इन्सपेक्सन विथ एसेटिक एसिड'(भीआईए) स्क्रिनिङ शिविर सम्पन्न भएको छ। शिविरमा १५५ भन्दा बढी महिलाहरूले पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गराएका छन्।
घट्टेकूलो स्थित सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, घट्टेकुलो विकास समाज र जेष्ठ नागरिक सेवा केन्द्रको संयुक्त आयोजनामा यो शिविर सञ्चालन गरिएको थियो।
काठमाडौं क्यान्सर सेन्टर ताथली भक्तपुरका जनसम्पर्क प्रबन्धक सुजन भट्टराईको समन्वयमा यो कार्यक्रम आयोजना गरिएको थियो। उनको सक्रिय सहभागिताले शिविरको व्यवस्थापन र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताए।
शिविरमा स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सुरेश कायस्थको नेतृत्वमा रहेको चिकित्सक टोलीले परीक्षण गरेका थिए। टोलीमा सिस्टर रेजिना बोहरा, अनु थापा, कुसुम भुजेल, सरू ख्याजु र संगिता लुंगेली मगर सहित अन्य स्वास्थ्यकर्मीहरू सहभागिता रहेको थियो।
शिविरका सहभागीहरूलाई ‘भीआईए’ स्क्रिनिङको महत्त्व, पाठेघरको मुखको क्यान्सरको पूर्व पहिचान र यसको रोकथामका उपायहरूबारे जानकारी दिइएको थियो। आयोजकहरूले यस्ता शिविरहरूले समुदायमा स्वास्थ्य सचेतना बढाउन र समयमै रोग पत्ता लगाउन मद्दत पुर्याउने बताए।
शिविरमा आवश्यकता अनुसार केही सहभागीहरूलाई थप परीक्षण र उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गरिएको जानकारी दिइएको छ। यस्ता नि:शुल्क स्वास्थ्य शिविरहरूले विशेष गरी आर्थिक रूपमा कमजोर वर्गका महिलाहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन सहयोग पुगेको छ।
आयोजकहरूले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर रूपमा सञ्चालन गर्ने योजना रहेको बताएका छन्। उनीहरूका अनुसार यस्ता शिविरहरूले महिलाहरूको स्वास्थ्य सुधार गर्न र समग्र समुदायको स्वास्थ्य स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्।