भक्तपुर, २४ साउन २०८१
काठमाडौं क्यान्सर सेन्टर भक्तपुर र काठमाडौं विश्वविद्यालय, नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआइसी), धुलिखेलले नेपालमा क्यान्सर अनुसन्धान र उपचारलाई अघि बढाउन सम्झौता गरेका छन्।
केसीसीका अध्यक्ष डा. सिमित सापकोटा र काठमाडौं विश्वविद्यालयको विज्ञान विद्यालयका डिन प्रा जनार्दन लामिछानेले यो सम्झौतामा हस्ताक्षर गरेका छन्।
यो साझेदारीले क्यान्सर चाँडो पत्ता लगाउने, रोग निदान गर्ने, उपचार गर्ने र रोकथाम गर्ने काममा जोड दिनेछ। दुवै संस्थाहरूले नयाँ प्रविधि र प्रयोगशालाहरू प्रयोग गरेर कृत्रिम बुद्धिमत्ता (एआई) को मद्दतले रोग पत्ता लगाउने र टाढैबाट उपचार गर्न मिल्ने प्रणालीहरू बनाउने योजना बनाएका छन्। यसले गर्दा टाढाका र सुविधा कम भएका ठाउँहरूमा पनि राम्रो र सजिलो उपचार पाइने आशा गरिएको छ।
काठमाडौं विश्वविद्यालय (नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर) र केसीसीले एक अर्काबाट सिक्नका लागि आदानप्रदान कार्यक्रमहरू पनि गरिनेछ।
यो साझेदारीले क्यान्सरको नयाँ र राम्रो उपचार छिटो पत्ता लगाउन मद्दत गर्नेछ। बिरामीहरूको जानकारी राख्ने एउटा ठूलो प्रणाली पनि बनाइनेछ जसले गर्दा उपचार अझ राम्रो हुने बताइएको छ। यो साझेदारीले समुदायमा क्यान्सरको बारेमा जनचेतना फैलाउने र क्यान्सर जाँच गर्ने कार्यक्रमहरू पनि गर्नेछ।
प्रा लामिछानेले काठमाडौं क्यान्सर सेन्टरसँग मिलेर क्यान्सर अनुसन्धानमा हाम्रो क्षमता बढाउन पाउँदा खुसी व्यक्त गर्दै संयुक्त क्लिनिकल परीक्षण, क्षमता निर्माण र जनस्वास्थ्य पहुँचमा जैविक प्रविधिको विशेषज्ञता प्रयोग गर्न सक्षम बनाउने विश्वास लिए।
नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरका कार्यवाहक निर्देशक प्राडा. राजेन्द्र ज्ञवालीले यो सहकार्यले नवीनताको माध्यमबाट क्यान्सर हेरचाहलाई अगाडि बढाउने बताए।