उदयपुर, २३ बैशाख २०८१
कोशी प्रदेशस्थित कटारी अस्पताललाई स्तरोन्नति हुने गरी ५० बेड क्षमताको अस्पताल बनाउने भएको छ।
वैषाख २१ गते बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले १५ बेड क्षमताको कटारी अस्पताल, उदयपुरलाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको प्रदेश अस्पताल बनाउने निर्णय गरेको हो।
कोशी प्रदेश सभा सदस्य तथा कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले मन्त्रिपरिषदको निर्णयले कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लाने निर्णय गरे सँगै आगामी दिनमा थप सेवा प्रभाव अझ प्रभावकारी बन्ने विश्वास लिएको बताए।
कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव शाहले उदयपुर सहित सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र सिन्धुलीका आधाजसो जनताले स्वास्थ्य सेवा लिन आउने गरेको जानकारी दिदै सो क्षेत्रको जनसंख्याका आधरमा स्वास्थ्य सेवा स्तरोन्नती गर्नु अति आवश्यक रहेको जानकारी दिए।