काठमाडौं, ७ भाद्र २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको १३ बर्ष पछि प्रथम दीक्षान्त समारोह गर्ने भएको छ । प्रतिष्ठानले आगामी २३ भदौका दिन प्रथम दीक्षान्त समारोह गर्ने भएको हो ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भाद्र २३ गते प्रथम दीक्षान्त समारोह गर्न कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति आइसकेको बताउनु भयो। प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षितका लागि योग्य छन् ।
प्रतिष्ठानबाट जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तह गरि ५६ विद्यार्थी पास आउट भएको रेक्टर डा. डबल बहादुर धामीले बताए।
यसअघि प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रथम दीक्षान्त समारोह गर्न भन्दै स्विकृतिका लागि भन्दै कुलपति समक्ष पत्र पठाएका थिए । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार, विहान १०:३० बजे स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरा सहितको पत्र पठाएको छ ।
‘प्रतिष्ठानबाट अहिलेसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थीहरु पास आउट हुनु भएको छ । उहाँहरुलाई दीक्षित गरिनेछ,’ उपकुलपति डा. रावलले भने ।
उनले प्रतिष्ठान स्थापनाको झण्डै ढेड दशक पुग्न लाग्दासम्म दीक्षान्त समारोह नभएको अवस्थामा यसपटक हुन लाग्दा खुशी लागेको समेत सुनाए ।
प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेशबुढ थापाले प्रतिष्ठानबाट अहिलेसम्म स्नातक तर्फ बीपीएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बीएमएसमा पनि दुई ब्याचको १३ जना र स्नातकोत्तर तर्फ एमडीजीपीमा ३ जना, एमडी एनेस्थेसियामा १ र एमडी पेडीयाट्रिक्समा १ गरी ५ जना सहित कुल ५६ जना पास आउट भएको जानकारी दिए ।
२३ भदौको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसंगै सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सहभागिता हुनेछ । सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ) को समेत उद्घाटन गर्नेछन् ।
यस्तै तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्रको उद्घाटन र विश्व स्वास्थ्य संगठनको सहयोगमा इएमआर हस्तान्तर गर्ने कार्यक्रम राखिएको छ ।
सो कार्यक्रमका लागि बरिष्ठ आँखा विज्ञ डा. सन्दुक रुईत, विश्व स्वास्थ्य संगठन नेपाल प्रमुख डा. राजेश सम्भाजीराव पाण्डबको पनि सहभागिता हुने बताइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला विसं २०६८ साल देखि सञ्चालनमा आएको हो । अहिले त्यहाँ एमबीबीएस तथा नर्सिङका अरु कार्यक्रम समेत सञ्चालन सुरु भएको छ।