काठमाडौं, २२ पुष २०८०
नेपालको एकमात्र सरकारी बाल अस्पताल कान्तिमा एक वर्षमा १ लाख ९९ हजार २ सय ५६ जनाले सेवा लिनुको साथै ४ करोड रुपैयाँ बराबरको निःशुल्क उपचार भएको छ।
आइतबार कान्ति अस्पताल स्थापना भएको ६२ वर्षको अवसरमा आयोजित समारोहमा अस्पतालका निर्देशक डा. पंकज रायले बताएका हुन् ।
डा. रायका अनुसार १ लाख ४६ हजार २ सय ४९ जनाले बहिरंग सेवा र ५३ हजार ७ जनाले आकस्मिक सेवा लिएका थिए । त्यसैगरी, एक वर्षमा ९ हजजार ५ सय ३३ जना भर्ना भएर उपचार सेवा लिएका हुन् । उनीहरुले जम्मा ७१ हजार २ सय ७ दिन अस्पताल बसाइँ रहेको अस्पतालले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । उपचारमा आएकामध्ये १ सय ८५ जना बालबालिकाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । आर्थिक वर्ष ७९/८० मा २ हजार ८ सय ४२ जनाको शल्यक्रिया भएको छ । जसमा ७ सय २४ जनाको गम्भीर किसिमको शल्यक्रिया भएको ८ सय १९ जनाको मध्यम खालको र ९ सय ३९ जनाको सामान्य शल्यक्रिया भएको उल्लेख छ । ३ सय ५२ शैय्या संचालनमा रहेकोमा एक वर्षमा ७२ प्रतिशत शैय्या बिरामीले प्रयोग गरेका छन् । ५ लाख २४ हजार वटा ल्याब सेवा, ५० हजार एक्सरे सेवा, २४ हजार युएसजी सेवा, १ हजार ९ सय ५७ सिटी स्क्यान सेवा प्रदान गरिएको डा. रायले जानकारी दिए ।
कान्ति अस्पतालले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा ४ करोड ३१ लाख ३३ हजार ७ सय ४९ रुपैयाँ बरावरको सेवा निःशुल्क गरेको थियो।