काठमाडौं, दुई प्रमुख सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच बालबालिकाको क्यान्सर उपचारलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सहकार्यले सरकारी स्वास्थ्य प्रणालीभित्रै क्यान्सर पीडित बालबालिकाका लागि एकीकृत उपचार सेवा सुनिश्चित गर्ने विश्वास लिइएको छ।
सम्झौता अनुसार अब दुवै अस्पतालका विशेषज्ञ चिकित्सकहरूले आपसी समन्वयमा बिरामीको उपचार योजना तयार गर्ने भएका छन्। एउटा अस्पतालमा उपलब्ध नभएको सेवा वा प्रविधि अर्को अस्पतालले उपलब्ध गराउने गरी सेवा आदानप्रदानको ढोका खुलेको छ। यसबाहेक, चिकित्सकहरूको सेवा आदानप्रदान र स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम दिने विषय पनि समझदारीमा समेटिएको छ।
समझदारी पत्रमा कान्ति अस्पतालका निर्देशक डा. पंकज राय र भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले हस्ताक्षर गरेका छन्।
समझदारी पत्रअनुसार विशेष गरी कान्ति बाल अस्पतालमा हाल उपलब्ध नभएका जटिल र अत्याधुनिक सेवाहरू अब भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा सहजै उपलब्ध हुनेछन्। जसमा रेडियसन, आइएमआरटी, आइएचसी, फ्लोसाइटोमेट्री र फ्रोजन बायोप्सी वा हाइपेक आवश्यक पर्ने अन्को-सर्जरीहरू लगायत रहेका छन्।
साथै, निकट भविष्यमा पेट स्क्यान र बोन म्यारो ट्रान्सप्लान्ट जस्ता उच्च विशिष्टीकृत सुविधाहरू समेत दुवै अस्पतालको समन्वयमा उपलब्ध गराइने लक्ष्य राखिएको छ।
* १४ वर्षमुनिकालाई निःशुल्क उपचार
यस सहकार्यको सबैभन्दा महत्वपूर्ण पक्ष १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क प्रदान गरिने व्यवस्था हो। विपन्न तथा पहुँचविहीन नागरिकका लागि यो ठूलो राहतको विषय बनेको छ। यसका साथै, बिरामीहरूले स्वास्थ्य बिमा कार्यक्रममार्फत पनि यी सेवाहरू लिन सक्ने डा. चालिसेले जानकारी दिए।
यी सरकारी अस्पतालबीचको यो ऐतिहासिक सहकार्यले नेपालमा बालबालिकाको क्यान्सर उपचारको गुणस्तर र पहुँचमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।







