काठमाडौं, १२ भाद्र २०८०
सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औषधि लिमिटेडमा गन्यापधुरा गाउँपालिका–४, डडेल्धुराका पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदले महाप्रबन्ध छनोट सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्ये पनेरुलाई नियुक्त गरेको हो। सिफारिस समितिले पनेरुसहित बहुदरमाई नगरपालिका–४, पर्साका उमेशप्रसाद गुप्ता र महालक्ष्मी नगरपालिका–८, ललितपुरका डा. राजकुमार थापाको नाम सिफारिस गरेको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ अनुसार लिमिटेडको महाप्रबन्धक छनौटका लागि सिफारिस समितिको आइतबारको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस भएको हो।
नेपाल औषधि लिमिटेडले रिक्त महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपुर्तिका लागि गत जेठ ११ गते सार्वजनिक सूचना जारी गर्दै दरखास्त आव्हान गरिएको थियो। महाप्रबन्धक पदका लागि नौ जनाले उम्मेदवारी दिएका थिए।