धनगढी, १२ फागुन २०८०
कैलालीमा फागुन १३ गतेबाट दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।
दादुरा-रुबेला खोप अभियान २०८०/८१ अन्तरगत जिल्लाका १३ वटै स्थानीय तहमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा खोप लगाउन लागिएको हो ।
शुक्रवार स्वास्थ्य कार्यालय कैलालीले धनगढीमा आयोजना गरेको पत्रकारसँगको अन्तक्रिया कार्यक्रमा जिल्लामा २ लाख ५८ हजार १ सय ५६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो।
अभियान चैत ७ गतेसम्म सञ्चालन हुने खोप नौ महिनादेखि ५ वर्ष मुनिका ५९ हजार ३८ र ५ वर्षदेखि १५ वर्ष मुनिका १ लाख ९९ हजार एक सय १८ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउनले लक्ष्य रहेको प्रमुख श्रेष्ठले बताए।
जिल्लाको मोहन्याल गाउँपालिकामा ७ हजार एक सय ३६, चुरे गाउँपालिकामा ७ हजार दुई सय १०, गोदावरी नगरपालिकामा ४० हजार आठ सय १४ गौरीगंगा नगरपालिकामा, १८ हजार छ सय ९९ र घोडाघोडी नगरपालिकामा २५ हजार ३९ जनालाई दादुरा रुबेलाको खोप लगाइने उनले बताए ।
त्यस्तैगरी बर्दगोरिया गाउँपालिकामा १० हजार नौ सय ५३, लम्कीचुहा नगरपालिकामा २७ हजार नौ सय ५०, जानकी गाउँपालिकामा ११ हजार सात सय २५, जोशीपुर ८ हजार पाँच सय ४८ र टीकापुर नगरपालिकामा २० हजार सात सय ७४ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
त्यस्तै भजनी नगरपालिकामा १२ हजार नौ सय ४४ र कैलारी गाउँपालिकामा ९ हजार तीन सय ६४ बालबालिका रहेका छ्न।
धनगढी उपमहानगरपालिकामा ५७ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनु भयो।
अवस्थीका अनुसार जिल्लामा ९ सय ६३ वटा खोप सेसन रहने, २ सय ९२ जना स्वास्थ्यकर्मी तथा १ हजार ९ सय २८ जना स्वयंसेवक परिचान गरिने छ।
खोप निःशुल्क र सुरक्षित भएकाले आ-आफ्ना वालबालिकालाई खोप केन्द्रमा लगेर खोप लगाउन प्रमुख श्रेष्ठले सरोकारवाला सबैलाई आग्रह गरे ।
खोप अभियानअन्तर्गत दादुरा-रुवेला खोपकासाथै नियमित खोप लगाउन छुटेका बालवालिकाको पहिचान गरेर खोप लगाइने कार्यालयले जनाएको छ । जिल्लामा २०७९ मंसिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५९ जनामा दादरा-रुवेला रोगको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक छ । सरकारले सन् २०२६ सम्ममा दादुरा रोग निवारण गर्ने लक्ष्य पनि राखेको छ।