काठमाडौं, २२ कात्तिक २०८२
नेपाल रेडियोलोजिस्ट्स एसोसिएसन (NRA) ले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस २०२५ (IDoR 2025) को अवसरमा पहिलो नेपाल फिटल समिट आयोजना गरी नेपालमा फिटल मेडिसिन र इमेजिङ अध्ययनको नयाँ अध्यायको सुरुवात गरेको छन।
NRA अध्यक्ष डा. तेजेन्द्र कार्कीले स्वागत मन्तव्य दिँदै रेडियोलोजीको भूमिकालाई आधुनिक स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा वर्णन गर्नुभयो। डा. कार्कीले जिम्मेवार इमेजिङ, विकिरण सुरक्षाको अभ्यास, र टोलीगत सहकार्यको महत्त्वमा जोड दिनुभयो।
यस वर्षको नारा “Radiologists and Radiographers Supporting Patients” उद्धृत गर्दै उहाँले फिटल इमेजिङलाई नेपालमा फिटल मेडिसिन विकासको आधारशिला (cornerstone) भएको बताउनुभयो।
कार्यक्रममा अन्तर्राष्ट्रिय वक्ताहरू डा. विवेक कश्यप, डा. रचिता राममूर्ति र डा. विकस कौशलले फिटल इमेजिङ र गर्भपूर्व निदानसम्बन्धी नवीनतम प्रविधि र अनुसन्धानका निष्कर्षहरू प्रस्तुत गरेका थिए।
समापन सत्रमा महासचिव डा. सरोज राज केसीले सबै वक्ता, सहभागी, र सहकार्यकर्ता संस्थाहरू — GE Healthcare, Nidan Medi Solutions, LifeCell, Experience Craft, र Imaging Masterclasses — लाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। डा. केसीले RADQUEST समितिको निरन्तर शैक्षिक योगदान र युवा रेडियोलोजिस्टहरूको सक्रिय सहभागिताको प्रशंसा गर्नुभयो।
RADQUEST क्विज प्रतियोगिता कार्यक्रममा आकर्षणको केन्द्र बनेको थियो।
उक्त प्रतियोगितामा आइओएमक डा. भूपेन्द्र अधिकारी, डा. शिवाली राव, डा. आशिष भण्डारी प्रथम, पाटन अस्पतालका डा. समृद्ध बस्न्यात, डा. शरद बराल, डा. राजेन्द्र न्यौपाने द्वितीय र न्यामस टोलीका डा. आइमिनाथ इस्माइल, डा. सीजना सिंह महर्जन र डा. जसपाल यादव तृतीय भएका थिए।
विजेता टोलीले भारतमा हुने अन्तर्राष्ट्रिय RADQUIZZ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ, जुन युवा रेडियोलोजिस्टहरूका लागि गर्वको अवसर हुनेछ।
कार्यक्रमका क्रममा “CNS Imaging” पुस्तकको विमोचन र फिटल मेडिसिन प्रशिक्षार्थीहरूको स्नातक समारोह पनि सम्पन्न गरियो, जसले नेपालमा रेडियोलोजी शिक्षा र फिटल मेडिसिनको स्तर थप उचाइ बनाएको छ।
समारोहको अन्त्यमा सहभागीहरूले सहकार्य, नवप्रवर्तन र शैक्षिक उत्कृष्टतामार्फत नेपालमा रेडियोलोजी र फिटल मेडिसिनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।













