काठमाडौं, १६ पुष २०८१
पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानका लागि आगामी २२ माघ देखि सुरु हुन गइरहेको छ। त्यसको लागि अहिलेसम्म १४ लाख ९७ हजार भाइरल खोप आइसकेको छ ।
अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप आएको हो ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले आइतबार थप ४ लाख ९० हजार भाइल खोप आइपुगेको जानकारी दिनुभयो । यसअघि पहिलो र दोस्रो लट गरेर १० लाख ७ हजार भाइल खोप आइसकेको छ ।
यसपटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् । यो खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्ने छ । त्यसका लागि गाभीबाट कुल १७ लाख ७० हजार २० भाइल खोप आउने छ । डा. गौतमलले बाँकी खोप आगामी १० जनवरी भित्र आइसक्ने बताए । आइसकेका खोपहरुलाई प्रदेशस्थित आपूर्तिकेन्द्रहरुमा पठाउने काम भइरहेको समेत उनले बताए ।
‘अहिले हामीले गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम, कोशी प्रदेशका लागि खोप पठाउन थालेका छौँ । थप खोप आएपछि मधेश प्रदेश तथा बागमतीका लागि व्यवस्थापन गर्नेछौँ,’ डा. गौतमले भने ।
डा. गौतमले किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने बताए । ‘खोप अभियान चल्छ, १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ । थप ८ हजार २०० वटा यस्ता केन्द्र तोकिएका छन्,’ उनले भने ।
डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिने बताए । यस्तै उनले अभियानका लागि १७ हजार ८४३ वटा सेफ्टी बक्स प्रयोग हुने जानकारी दिए ।
यसपटक अभियानका रुपमा सञ्चालन गरिए पनि सरकारले एचपीभी खोपलाई अर्को वर्षबाट नियमित खोपको सूचीमा राखिसकेको छ ।