काठमाडौं, ०७ पुष २०८२
सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार एचपीभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो ।
सोमबार पत्रकार अन्तरक्रियामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो ।
कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप कार्यक्रमका लागि करिब सम्पूर्ण तयारी भएको बताउनु भयो । उनले खोप दिने समयमा निर्वाचन तथा चाडपर्वले केही प्रभावित बनाउन सक्ने भन्ने आकलन छ, तथापि माघको अन्तिमबाट सुरु गरेर फागुनको पहिलो साता अभियान सम्पन्न गर्ने योजनासहित तयारी गरिएको छ । यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने छ ।
डा. गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ । गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइने छ ।
विभिन्न वैज्ञानिक प्रमाण र खोप सल्लाहकार समितिका अनुसार एक मात्राको खोप लगाए पनि त्यसको प्रभावकारिता हुने भनिएपछि यसपटक एक मात्रा मात्र दिन लागेका डा. गौतमले बताए।
बढीभन्दा बढीलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको उनले बताए।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा औसतमा प्रत्येक दिन चारजना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको ज्यान जाने पहिलो मुख्य कारण रहेको त्यस अवसरमा जानकारी दिइयो । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुनु हो । सरकारले हाल १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ ।
डा. गौतमले नेपालले खोप ‘कभरेज’को हिसाबले विकसित मुलुकको तुलनामा पनि उल्लेखनीय प्रगति गरेको सुनाउँदै खोपप्रति मानिसको सकारात्मक धारणा बनाउन सके यसलाई अझै बढाउन सकिने बताउनु भयो।
विश्व स्वास्थ्य संगठनले खोपको गुणस्तर प्रमाणीकरण गरेपछि मात्र खोप प्रयोग योग्य हुने भएकोले बिना संकोच एचपिभी खोप लगाउन विश्व स्वास्थ्य संगठनका डा. पवन उपाध्यायले आग्रह गरे। खोप आपूर्ति गर्ने संस्थाले अनिवार्य रुपमा औषधि व्यवस्था विभागमा दर्ता भएको खोप मात्रै आपूर्ति गर्नुपर्ने व्यवस्था रहेकोले एचपिभी खोपबारे गलत बुझाई नराख्न उनले सुझाव छ। कुनै पनि खोपले परीक्षणको चरण पार गर्नका लागि कम्तीमा पनि १० वर्ष भन्दा लामो समय लाग्ने उनले जानकारी दिए।
स्वास्थ्य सेवा परिवार कल्याण महाशाखा निर्देशक डा. मदन कुमार उपाध्यायले नेपालको खोप कार्यक्रम एक सफल कार्यक्रम अन्तर्गत रहेको बताउनु भयो। नेपालका सबै जिल्ला तथा स्थानीय तहहरु पूर्ण खोप घोषणा भइसकेपनि निरन्तरता दिन भने चुनौती रहेको उनको धारणा छ। त्यसको निरन्तरताका लागि सरकारको तर्फबाट भने काम भइरहने उनले बताए।












