काठमाडौं, १६ मंसिर २०८२
नेपालमा सन् २००० यता उच्च देखिएको एचआइभीको नयाँ संक्रमण दर २०२४ को अन्त्यसम्म आइपुग्दा ८९ प्रतिशत घटेको छ ।
सरकारले पछिल्लो समय सोचे अनुरूपको उपलब्धी हासिल गर्न भने सकेको छैन । नेपालमा अझै प्रत्येक दिन १ दशमलब ७ प्रतिशतमा संक्रमण देखिने गरेको तथ्याङ्कले बताउछ।
सरकारले सन् २०३० सम्ममा अनुमानित एचआइभी संक्रमितमध्ये ९४ प्रतिशतको पहिचान गर्ने, तीमध्ये ९५ प्रतिशतलाई उपचारको दायरामा ल्याउने र औषधि सेवन गर्नेमध्ये ९५ प्रतिशतमा भाइरसको भार न्यून गर्ने लक्ष्य लिएको थियो । तर दातृ निकायहरूको बजेट काटिँदा तथा स्वास्थ्य क्षेत्रमा सरकारको लगानी कम हुँदा त्यसलाई हासिल गर्न चुनौती रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्भेष शर्माले बताए।
नेपालमा सन् २०२४ मा ५ सय ६९ जनाको एड्सका कारणले मृत्यु भएको अनुमान छ । हाल देशका ७७ वटै जिल्लाका स्वास्थ्य संस्थाहरूबाट एचआइभी परामर्श तथा परीक्षण सेवा नि:शुल्क दिइरहे पनि ६४ जिल्लाका ९६ एआरटी सेन्टरमा मात्र नि:शुल्क एन्टिरेट्रोभाइरल उपचार उपलब्ध छ । चिकित्सकहरुका अनुसार समयमै पत्ता लागेर औषधि सेवन गरेमा एचआइभी भएका मानिसहरु सामान्यसरह नै बाँच्न सक्छन् ।
हाल नेपालमा ३४ हजार ३ सय ३७ जनामा एचआइभी संक्रमण रहेको अनुमान सरकारको छ । तीमध्ये २६ हजार २ सय ७२ जना अर्थात् ७७ प्रतिशतले औषधि सेवन गरिरहेका छन् भने अझै २३ प्रतिशत उपचारको दायराभन्दा बाहिर छन् ।
डा. शर्माका अनुसार सुइद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, कारागारमा रहेका कैदीबन्दी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र वैदेशिक रोजगारीमा भारत गएकाहरु तथा तिनका दम्पतिहरु उच्च जोखीम समूहमा पर्छन्।











