काठमाडौं, २१ चैत्र २०८०
आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी सेवा ग्राहीको पहुँच बढाउन पत्रकार अन्तरक्रिया कार्यक्रम गरेको छ।
स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाको आयोजनामा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र टेकुमा उक्त अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. अनुप बास्तोलाले धेरै मानिसहरुमा आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धि ज्ञान नभएकोले संञ्चार माध्यमहरुले त्यसमा भूमिका निभाउनुपर्ने बताए।
नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, जनस्वास्थ्य सेवा ऐन, २०७५,पन्ध्रौं योजना तथा राष्ट्रिय स्वास्थ्य वित रणनीति २०८०-२०९१ मा आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी व्यवस्था गरिएको भएपनि धेरै मानिसहरुमा यसबारेको ज्ञान नभएका कारण उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको निर्देशक डा. बास्तोलाको धारणा रहेको छ।
सबै पालिका र प्रदेशका स्वास्थ्य संस्था हरुमा आधारभुत स्वस्थ्य सेवाका लागि चाहिने ९८ प्रकारका औषधिजन्य सामग्रीहरुको बजेट उपचारात्मक सेवा महाशाखा बाट बिनियोजन हुने गरेको पनि डा. बास्तोलाले बताए।
आधारभुत स्वास्थ्य सेवा अन्तर्गत खोप सेवा, एकीकृत नवजात शिशु स्वास्थ्य सेवा, सरुवा रोग सम्बन्धि सेवा, नसर्ने रोग तथा शारीरिक विकलांग सम्बन्धि सेवा, मानसिक रोग सम्बन्धी सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सम्बन्धी सेवा, सामान्य चोटपटक सम्बन्धी सेवा, आयुर्वेद तथा अन्य परम्परागत स्वास्थ्य सेवा रहेको आधारभुत तथा आकस्मिक सेवा ब्याबस्थापन प्रमुख डा. उत्तम पच्याले बताउनु भयो।
सरकारले आधारभुत स्वास्थ्य सेवाका लागि विभिन्न ९८ प्रकारका औषधिहरु उपलब्ध गराउँदै आएको पनि उनले बताए।
इपिडिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले विशिष्टीकृत नभई आधारभुत स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने बताए।
सरकारले यसका लागि विशेष प्रकारको प्याकेज ल्याउनुपर्ने र जसमा विशिष्टीकृत सेवालाई स्वास्थ्य बिमाले समावेश गर्ने नीति ल्याउन आवश्यक रहेकोे डा. मरासिनीले बताए ।
स्वास्थ्य सेवा विभाग आपूर्ति तथा व्यवस्थापन महाशाखाका प्रमुख डा. श्रवण कुमार थापाले आधारभुत औषधिहरुको सूची समयअनुसार परिमार्जन गर्नुपर्ने बताए।