स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन यही चैत्र २७ देखि शुरु हुने भएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले काठमाडौंमा पर्सि देखि शुरु हुने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलनको तयारी पुरा भएको बताएको छ। परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा सन् २०१५ देखि लगातार रुपमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन गर्दै आएको छ ।
बुधबार पत्रकार सम्मेलन गरि सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले बताउनुभयो । गत वर्ष जस्तै यसपटक पनि सोल्टी होटलमा आगामी शुक्रबार देखि आइतबार सम्म उक्त सम्मेलन हुने उनले बताए ।
यसपटक सम्मेलनको मुख्य नारा “नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया” भन्ने रहेको छ।
यस सम्मेलनले राष्ट्रिय तथा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको समाधानका लागि अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्ध सुदृढ पार्नुको महत्त्वलाई उजागर गर्ने डा. जोशीले बताए। डा. जोशीले यस पटक पनि नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय, स्वास्थ्य क्षेत्रका उद्यमी र विकास साझेदारहरूलाई एउटै मञ्चमा ल्याएर विचार, अनुभव र नवीनतम प्रमाण साझा गर्ने, छलफल गर्ने तथा जिम्मेवार अनुसन्धान संस्कृतिको प्रवद्दन गर्ने लक्ष्य लिएको बताए ।
डा. जोशीका अनुसार सम्मेलन उद्घाटन गर्न यसपटक पनि प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव आउने छन् । यस्तै सम्मेलनमा १२०० भन्दा बढी राष्ट्रिय सहभागी तथा केही अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने बताइएको छ । सम्मेलनमा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अष्ट्रेलिया, कोरिया तथा युरोपका प्रतिनिधिहरू सहभागी हुनेछन्।
डा. जोशीले यसपटक मध्यपूर्वको तनावको कारण गत वर्षको तुलनामा यसपटक अन्तर्राष्ट्रिय सहभागीहरूको संख्यामा केही कमी हुने बताए ।
सम्मेलनका लागि कुल ४६५ वटा एब्स्ट्याकहरू प्राप्त भएका थिए, त्यस मध्येबाट ९१ वटा मौखिक तथा १२० वटा पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएको छ।
सम्मेलनमा एउटा पूर्ण सत्र, ३५ वटा आमन्त्रित प्रस्तुतीकरण, १२ वटा समानान्तर सत्र तथा पाँचवटा प्यानल छलफलहरू समावेश गरिएको छ। मुख्य सत्रमा प्रमाणमा आधारित निर्णय प्रक्रियाका लागि स्वास्थ्य अनुसन्धान सुशासनमा केन्द्रित मौखिक प्रस्तुति तथा छलफल हुनेछ भने समानान्तर सत्रहरूमा विभिन्न विषयहरू समेटिनेछन् ।
डा. जोशीले त्यसमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ, नवजात तथा बाल स्वास्थ्य र परिवार नियोजन, स्वास्थ्य प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त तथा जनशक्ति, संक्रामक रोग, महामारी तयारी तथा विपद् व्यवस्थापन, चिकित्सकीय विज्ञान विषयहरु पर्ने बताए ।
यस्तै गरी आयुर्वेद तथा परम्परागत चिकित्सा, सर्वव्यापी स्वास्थ्य पहुँच, वातावरणीय तथा पेशागत स्वास्थ्य, जलवायु परिवर्तन, एक स्वास्थ्य अवधारणा, स्वास्थ्य सेवा पहुँचमा असमानता, स्वास्थ्यका सामाजिक निर्धारकहरू, स्वास्थ्य शिक्षा तथा प्रवद्र्धन, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र स्वास्थ्य, जनस्वास्थ्य तथा जनसांख्यिकी, ज्येष्ठ नागरिक स्वास्थ्य, तथा औषधिमा पहुँच इत्यादि रहने बताए।







