काठमाडौं, १७ पुष २०८१
नेपाल स्वास्थ्य व्यवसायी परिषदले अब वर्षमा पाँच पटक लाइसेन्स परीक्षा लिन थालेको छ । परीक्षार्थीको चाप बढ्दै गएपछि चालु आर्थिक वर्ष देखि बार्षिक रुपमा पाँचपटक लाइसेन्स परीक्षा लिन थालेको हो ।
चालु आर्थिक वर्षमा पहिलो परीक्षा असोजको पहिलो साता र दोस्रो परीक्षा मंसिरको तेस्रो साता सम्पन्न भइसकेको छ । यस्तै परिषद्ले अब तेस्रो परीक्षा फागुनको पहिलो साता, चौथो परीक्षा बैशाखको तेस्रो साता र पाँचौँ परीक्षा असारको अन्तिम साता गर्ने परिषद्का रजिष्ट्रार लिलानाथ भण्डारीले बताउनु भयो।
रजिस्ट्रार भण्डारीका अनुसार हामीले दुईवटा कुरालाई मुख्य ध्यान दिएर वर्षमा पाँच परीक्षा लिन सुरु गरेका हौँ र पहिलो कारण परीक्षार्थीको संख्या धेरै हुन थाल्यो दोस्रो परीक्षार्थीहरु छिटो पास भएर अन्य अवसरमा अघि बढन सकुन भन्ने हो ।
रजिष्ट्रार भण्डारीका अनुसार अहिले परिषदबाट पीसीएल देखि एमफिल तहसम्मका विभिन्न ४० बढी विषयका परीक्षार्थीहरुले लाइसेन्स लिदै आएका छन् ।
बिगत तीन वर्ष देखि गत आर्थिक वर्षसम्म बार्षिक ३ पटकका दरले परीक्षा लिदै आएकोमा अब वर्षको पाँच पटकका दरले लाइसेन्सको परीक्षा गराउने परिषदका अध्यक्ष डा. सुबोध शर्माले बताए।
डा. शर्माका अनुसार गत मंसिरको तेस्रो साता भएको चालु आर्थिक वर्षको दोस्रो परीक्षा सम्पन्न हुँदा परिषद्को भने एघारौँ नाम दर्ता परीक्षा सम्पन्न भएको छ ।