ललितपुर, १९ फागुन २०८०
स्वास्थ्य कार्यालय ललितपुरको प्रमुखमा डा. भुवन पौडेलले जिम्मेवारी पाएका छन् ।
गत १६ फागुनमा बागमती प्रदेशको प्रमुख सचिवस्तरीय निर्णयबाट डा. पौडेललाई स्वास्थ्य कार्यालय ललितपुर प्रमुखको जिम्मेवारी तोकिएको हो ।
डा. पौडेल स्वास्थ्य सेवा तर्फका १० औँ तहका कर्मचारी हुन् । स्वास्थ्य कार्यालय ललितपुरको प्रमुख पनि १० औँ तहको हुने व्यवस्था छ ।
डा. पौडेल स्वास्थ्य कार्यालय काठमाडौँमा कार्यरत थिए । उनी ११ औँ तहका डा. अर्जुन सापकोटा नआउँदासम्म केही समय निमित्त प्रमुख भएर स्वास्थ्य कार्यालय काठमाडौँको जिम्मेवारी समेत सम्हालेका थिए ।
डा. पौडेलले सरुवाको पत्र पाएकोले अब आइतबारबाट स्वास्थ्य कार्यालय ललितपुरको जिम्मेवारी सम्हाल्ने बताउनु भयो।
झण्डै ४ महिना देखि स्वास्थ्य कार्यालय ललितपुर निमित्तको भरमा चलेको थियो।