काठमाडौं, २९ भदौ २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट सेवा दिने भएको छ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालन गर्ने गरी मन्त्रालयले तयारी अगाडि बढाएको बताउनु भयो।
गत भाद्र २४ गते जेनजीको प्रदर्शनका क्रममा लागेको भीषण आगलागीले स्वास्थ्य तथा जनससंख्या मन्त्रालय पूर्ण रूपमा ध्वस्त बनाएको छ ।
मन्त्रालयको मुख्य भवन जलेपछि दैनिकी कामकाजमा प्रत्यक्ष अवरोध भएको छ ।
मन्त्रालयको चारतले भवनसँगै भित्र रहेका फर्निचर, कम्प्युटर, महत्त्वपूर्ण कागजपत्रदेखि परिसरमा पार्क गरिएका सवारी साधनसम्म खरानीमा परिणत भएको छ।
डा. देवकोटाका अनुसार अहिले तत्काल काम सुरु गर्नेका लागि एनएचआरसी भवनमै मन्त्रीका लागि एउटा तलाको व्यवस्था गरिएको छ।
उनले भने, हामी कर्मचारी त एउटै हलमा बसेर काम चलाउन सक्छौँ, तर मन्त्रीका लागि अलग्गै कोठा तयार गरेका छौं र भवनको कुनै कोठा बाँकी छैन, काजजात कुनै पनि बाँकी छैन ।
डा. देवकोटाले भने , ‘इमेलमा र हामीसँग ल्याबटपमा भएका कागजपत्रलाई प्रिन्ट गरेर आवश्यकताअनुसार काम गर्ने गर्नेछौं ।
मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।