काठमाडौं, ०९ भाद्र २०८२
नेपालले जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै आधिकारिक रूपमा रुबेला–मुक्त देश घोषित गर्न सफल भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई रुबेला निवारणको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
यो सँगै रुबेला निवारण गर्र्न विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल छैटौँ राष्ट्र बनेको छ । विश्व स्वास्थ्य सङ्गठनले २०८२ साल भदौ २ गते नेपाल रुबेला रोग निवारण गर्न सफल भएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले यो घोषणा सम्पूर्ण नेपालीका लागि अत्यन्तै गर्वको विषय भएको बताउनु भयो । पाउनेले यो उपलब्धिलाई दिगो राख्न र नेपालका बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्न अन्य खोप–रोकथाम योग्य रोगहरू उन्मूलनतर्फ काम गर्न निरन्तर प्रयासका लागि आह्वान गरे।
पौडेलले भने, “यो हाम्रा स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र आम नागरिकको सक्रिय सहभागिताको अटुट समर्पणको परिणाम हो । नेपाल यो उपलब्धि हासिल गर्ने दक्षिण–पूर्वी एसिया क्षेत्रको छैटौं देश बनेको छ ।”
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालले २०२५ मा रुबेला उन्मूलन गरेर एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका गरेको बताउँदै अबको लक्ष्य दादुरा उन्मूलन गर्नुरहेको बताउनु भयो।
डा. देवकोटाका अनुसार दादुरा निकै छिटो फैलिन्छ । यदि हामीले यसको निगरानी प्रणालीलाई बलियो बनाएर यसलाई उन्मूलन गर्न सक्यौँ भने, त्यही प्रणाली अन्य रोगहरूको नियन्त्रणका लागि पनि उदाहरणीय बन्नेछ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले दशकौँको निरन्तर प्रयासपछि यो सफलता प्राप्त भएको विस्तृत जानकारी दिए । उनले यो घोषणा नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा रहेको बताउँदै सरकारले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।
नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजीराव पान्डवले नेपाल सरकार र साझेदारहरूलाई बधाई दिँदै यो नेपालका लागि गर्वको क्षण र क्षेत्रीय तथा विश्वव्यापी स्वास्थ्यमा एक महत्त्वपूर्ण योगदान रहेको बताए । डा. पाण्डवले सफलता निरन्तर उच्च खोप, बलियो निगरानी प्रणाली र प्रकोपको द्रुत प्रतिकार्यबाट सम्भव भएकोमा जोड दिनुभयो।