काठमाडौं, २४ पुष २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ।
मंगलबार मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो।
गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्था नवीकरण नगरी सञ्चालनमा आएको उजुरीपछि मन्त्रालयले परिपत्र गरेको हो। इजाजत नवीकरण नगरेका केही संस्था मापदण्डअनुसार समेत नचलेको उजुरी मन्त्रालयले प्राप्त गरेको छ।
मन्त्रालयले इजाजत पत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।