काठमाडौं, ८ कात्तिक २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको उपलब्धी सार्वजनिक गर्नुभएको छ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेलले १०० दिनमा भएका काम तथा उपलब्धिलाई १६ वटा बुँदामा प्रस्तुत गर्नु भएको छ।
विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको,एमडी\एमएस गरी विशेषज्ञता हासिल गरेका स्थानीय तहका चिकित्सकलाई प्रादेशिक अस्पतालमा कामकाजमा लगाइएको जस्ता उपलब्धि हासिल भएको उहाँले उल्लेख गर्नुभएको छ।
यस्तैगरी जनस्वास्थ्य समितिको क्रियाशिलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन लगायत उल्लेख छन्।
उहाँले सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाइएको, हरेक प्रदेशमा कम्तीमा एक अस्पतालबाट मुटुरोग उपचारको सेवा सुरु गरिने निर्णय भएको, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा सातै प्रदेशमा मुटुरोग सेवा विस्तार गर्ने क्रममा मधेश प्रदेश र गण्डकी प्रदेशमा सेवा सुरु भएको बताउनुभयो ।
सबै अस्पताहरुमा शल्यक्रिया समयमै हुने गरेको दाबी पौडेलले गर्नुभयो । साथै जलन उपचारलाई निःशुल्क गरिएको, हाल १३ किसिमको औषधि उत्पादन गरी वितरण भएको सिंहदरबार वैद्यखानालाई थप स्तरोन्नति गरी कम्तीमा २० किसिमका आधारभूत आयुर्वेद औषधिको उत्पादन गरिने बताउनुभयो ।
यस्तै थप ७ वटा औषधि उत्पादन गर्न कच्चा पदार्थ प्राप्तीका लागि कार्यादेश भएको प्रगति विवरणमा उल्लेख छ । सबै संघीय अस्पतालमा बिरामीलाई समयमै उपचार दिन टोकन प्रणाली लागु गरिएको भन्दै उहाँले देशभरका १४ संघीय, ६ प्रादेशिक र ६० जिल्ला अस्पतालको औजार उपकरणको सर्वेक्षण गरी एकीकृत सूची तयार गरिएको बताउनुभयो।