काठमाडौं, ३० चैत्र २०८०
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएको छ।
चैत्र २८ देखि तीन दिनसम्म चलेको उक्त सम्मेलन शुक्रबार छ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।
समापन कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र परिषद्का अध्यक्ष प्राडा. गेहनाथ बरालले विभिन्न दश वटा विधामा अवार्ड प्रदान गरेका थिए।
सम्मेलनमा वेष्ट पेपर प्रिजेन्टेसन अवार्ड पोष्टरतर्फ प्रतिक्षा पौडेलले प्राप्त गरेकी छिन् । त्यस्तै, वेष्ट पेपर प्रिजेन्टेसन अवार्ड ओरलतर्फबाट किरण आचार्य पुरस्कृत भएका छन् ।
‘जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवार्ड २०२३’ गंगा जिसीले हात पारेकी छिन् । त्यस्तै ‘मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४’ बाट (चिकित्सक) डा. गम्भीर श्रेष्ठ पुरस्कृत भएका छन् ।
‘मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४’ बाट (परिषद् कर्मचारी) तर्फ प्रदीप बेल्बासे पुरस्कृत भएका छन् ।
त्यसैगरी, योङ हेल्थ रिसर्च अवार्डमा सुनील श्रेष्ठ, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४ डा. आलोक आत्रेय, एचएचआरसी वेस्ट सेक्सन अवार्ड इथिकल रिभ्यु इभ्यालुसन एण्ड मोनिटरिङ सेक्सनले पाएको छ। एनएचआरसी बेष्ट परफर्म अवार्ड पुस्तकालयका चन्द्रभुषण यादव पुरस्कृत भएका छन् । लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. मृगेन्द्रराज पाण्डेलाई प्रदान गरिएको छ।
कार्यक्रममा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सम्मेलनको निष्कर्षलाई सरकारले मार्गदर्शनको रुपमा लिने प्रतिवद्धता जनाए ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सम्मेलनले दिएको सुझाव र सल्लाह स्वास्थ्य मन्त्रालयले ग्रहण गर्ने बताउँदै त्यसको लागि संगठन संरचना छिटै पास गरी काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाउनु भयो।
परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले तीन दिनको सम्मेलनले निर्देश गरेको ६ बुँदे घोषणापत्र सुनाउदै भावी योजनाबारे प्रष्ट पारेका छन् । डा. जोशीले कार्यक्रम प्रभावकारी ढंगले समयमा सम्पन्न भएको बताउँदै सम्पूर्णमा नयाँ वर्षको शुभकामना समेत दिनुभयो।