सिन्धुपाल्चोक २६ मंसिर २०८०
स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीको दरबन्दी बढाउने प्रक्रियाको थालनी गरेको बताएका छन्।
चौतारा साँगाचोकगढी नगरपालिका–८ स्थित ईर्खु माविको ६४ औँ वार्षिकोत्सवको मंगलबार उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा फटाफट काम गर्ने वातावरणको निर्माणमा आफू जुटिरहेको बताउनुभयो।
२०५४ देखि स्वास्थ्य संस्थामा दरबन्दी बढ्न नसकेकोले तत्काल २५ देखि ३० हजार दरबन्दी बढाउने गरी मन्त्रालयले प्रक्रिया थालिसकेको मन्त्री बस्नेतले बताए। समयअनुसार स्वास्थ्यकर्मीको दरबन्दी बढ्न नसक्दा गुणस्तरीय सेवा प्रवाहमा बाधा पुर्याइरहेको उनको भनाइ छ।
गरिबीका कारण आर्थिक अभावमा उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने गरी स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको अनुभव पनि मन्त्री बस्नेतले सुनाए। ‘अब पनि पैसा नभएर उपचार नपाइ मर्नुपर्ने अवस्था रहनु लज्जाको विषय हो,’ यसलाई अन्त्य गर्ने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाउँदै उनले भने।
चिकित्सा शिक्षामा सुधारको आवश्यकता औँल्याउँदै बस्नेतले स्वदेशमै पढ्ने वातावरण बनाउने प्रयास भइरहेको बताए।