मोरङ, १९ चैत २०८१
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेको स्वास्थ्य बिमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने बताएका छन् । ।
विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले स्वास्थ्य बिमा कोष करिब रु. एक खर्ब बराबरको बनाउन सके स्वास्थ्य बिमा क्षेत्रका समस्या समाधान हुने बताए । उनले मुलुकमा कुल बजेटको करिब सात प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने माग गरे ।
मन्त्री पौडेलले निजी मेडिकल कलेजले चिकित्सकहरूलाई दिइने सुविधाबारे सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने र यसका लागि सहमतिको विन्दु पहिल्याउने प्रयास भइरहेको बताउनु भयो ।
पौडेलले बोल्दै लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र परिष्कृत लोकतन्त्र नै भएको बताए । मन्त्री पौडेलले नागरिक अधिकार, आफैँले जनप्रतिनिधि चयन गर्ने, बोल्न पाउने अधिकारलगायत विषय लोकतान्त्रिक गणतन्त्रमा मात्र पाइने धारणा राखे । उनले हिंसाको जगमा व्यवस्था परिवर्तन हुन नसक्ने धारणा राखे।