काठमाडौं, २८ भाद्र २०८१
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजिनामा दिएका छन् । शुक्रबार डा. लोहनीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलमार्फत राजीनामा बुझाएका हुन् ।
डा. लोहनीले राजीनामा दिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिएको छ । ‘उहाँ आज मन्त्रीलाई भेटेर राजीनामा दिन आउनुभएको थियो,’ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘उहाँ (मन्त्री) नभेटेपछि सचिवालयमा छोडेर जानुभएको छ ।’ १३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो । सो विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र मन्त्रालय सकारात्मक नभएपछि डा. लोहनीले राजीनामा दिएको निकट स्रोतले जानकारी दियो ।